काठमाडौं := हास्य कलाकारद्वय राजु पौडेल ‘राजु मास्टर’ र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’लगायतलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो।
उक्त मुद्दामा अभियुक्त बनाइएकाहरूको सोमबारदेखि न्यायाधीश हिमलाल बेल्वासेको इजलासमा वयान लिइएको छ। वयान सकिएपछि बेल्वासेकै इजलासमा थुनछेक बहस हुनेछ। थुनछेक बहस सकिएपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने वा तारेखमा राख्ने आदेश हुनेछ ।
पक्राउ परेका ११ मध्ये दिनेश खड्का र अनिता धितालसित क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगसहित बरामद भएको ६४ करोड ९४ लाख २९ हजार ८२० रुपैयाँको बिगो दाबी गरिएको छ । उक्त कसुरमा उनीहरूविरुद्ध बिगोको तीन गुणासम्म जरिवाना वा सात वर्षसम्म कैद वा दुवै सजायको माग गरिएको छ ।
यस्तै, उनीहरूविरुद्ध अनलाइन जुवातास वा सट्टेबाजी गराएको आरोपमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरिएको छ । साथै, कसुरको प्रमाण दबाएको अभियोगमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म उनीहरूलाई जरिवानाको माग गरिएको छ। यसरी खड्का र धितालले एउटै घटनामा एकभन्दा बढी कसुर गरेको भन्दै कुल सजायको थप आधा सजाय पनि गर्न अभियोगपत्रमा माग गरिएको छ ।
यसैगरी, सट्टेबाजी गर्न प्रयोग भएको वानएक्सबेटसम्बन्धी विज्ञापन आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गराएको भन्दै कलाकारहरू बेगम नेपाली (भटभटे), पवन खतिवडा, अलिस राई, राजु पौडेल (राजु मास्टार), मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), जलन घर्तीमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेलविरुद्ध विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा २ (ढ) र दफा २५ को उपदफा (१) बमोजिम कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ




















