किर्गिस्तान := नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार चौथो हार व्यहोरेको छ । लिग चरणको चौथो खेलमा नेपाल तुर्केमिनिस्तानसँग ३-१को सेटमा पराजित भयो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा भएको खेलको पहिलो सेट १८-२५ ले गुमाएको थियो । यस्तै दोस्रो सेट नेपालले २५-२३ ले पराजित भयो । तेस्रो सेटमा नेपाल २४-२६ले पराजित भयो ।
१०-१० को बराबरीको स्थितिबाट लय गुमाएको नेपालले त्यसपछि खेलमा फर्कने प्रयास गरेपनि तुर्केमिनिस्तानलाई २०-२४ ले नतिजा सुम्पन पुग्यो । लगातार चौथो हारसँगै नेसन्स लिगमा नेपाल अंकविहीन बनेको छ । यसअघि नेपाल पहिलो खेलमा मंगोलिया र दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानसँग समान ३-१को सेटमा पराजित भएको थियो ।
यस्तै तेस्रो खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भएको थियो। पहिलो जितसँगै तुर्केमिनिस्तानले चारखेलबाट ३ अंक बटुलेको छ । यसअघि तुर्केमिनिस्तान किर्गिस्तानको दोस्रो टोली, मंगोलिया र किर्गिस्तानसँग समान ३-१को सेटमा पराजित भएको थियो ।




















