अन्ततः खुला राजनीतिमा रेशम चौधरी, जेलबाट रिहाइ लगत्तै पुगे बर्दिया र कैलालीको गाउँ घरतिर।

काठमाडौं := नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुल्ला राजनीतिको बाटोमा आएका छन् ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट आन्दोलनका क्रममा घटनामा परि ७ सुरक्षाकर्मी र एक नाबालकसहित आठ जनाको ज्यान गएको घटनामा मुख्य दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका हुन्। उनी सोमबार जेलजीवनबाट मुक्त भएका हुन् ।

जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत गरी तीनै तहका अदालतबाट चौधरीलाई जन्मकैदको सजाय सुनाइएको थियो । चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलबाट बाँकी कैदका लागि माफी दिएको हो ।

रिहाइ लगत्तै उनी गृह जिल्ला कैलाली पुगेका छन् । उनी कैलालीबाट सोमबार नै बर्दियासमेत पुगेका छन् । बर्दिया २ उनको बुवाको निर्वाचन क्षेत्र हो । त्यस क्रममा उनले जनताका पक्षमा सक्रियतापूर्वक लाग्ने प्रतिबद्धता जनाए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।