छुट्टाछुट्टै घटनामा भारतीय अभिनेताद्धय शरत बाबु, नितेश पाण्डे र अभिनेत्री वैभवी उपाध्यायको निधन।

मुम्बई := दक्षिण भारतीय अभिनेता शरत बाबुको ७१ वर्षको उमेरमा निधन भएको छ । उहाँलाई गत महिना हैदरावादको एक अस्पतालको भेन्टिलेटरमा भर्ना गरिएको थियो । उहाँले आफ्नो फिल्मी करियरमा २२० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको जन्म ३१ जुलाई सन् १९५१ मा आन्द्र प्रदेशमा भएको थियो । उहाँको वास्तविक नाम सत्यम बाबु दीक्षित हो। शरतले सन् १९७३ मा तेलुगु फिल्म ‘राजा राजयम’ बाट डेब्यू गर्नुभएको थियो ।

उहाँले आफ्नो करियरमा तेलुगु, तमिल, मलयालम र कन्नड सबै चलचित्रहरूमा काम गरिसक्नु भएको छ। उहाँलाई प्रतिष्ठित ‘नन्दी अवार्ड’ पनि दिइएको थियो । उहाँ हालै पवन कल्याणको चलचित्र ‘वकील साब’ मा देखिनु भएको थियो।

त्यस्तै बलिउडका अभिनेता नितेश पाण्डेको ५१ वर्षको उमेरमा निधन भएको छ । पाण्डेले थुप्रै हिन्दी फिल्म र टेलिभिजन सिरियलमा काम गर्नुभएको छ ।

केही समय अघिउहाँ चर्चित टिभी सिरियल ‘अनुपमा’ मा पनि देखिनुभएको थियो । उहाँले ‘ओम शान्ति ओम, दबंग–२, रंगुन, खोसला का घोसला, मिकी भाइरस’जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ ।

त्यसैगरी बलिउड अभिनेत्री वैभवी उपाध्यायको सडक दुर्घटनामा मृत्यु भएको छ। ‘साराभाई भर्सेस साराभाई २’ मा उहाँको भूमिकाबाट चर्चित हुनुहुन्थ्यो । निर्माता जेडी मजेठियाले वैभवीको मृत्युको खबर सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ । ‘जीवन धेरै अप्रत्याशित छ ।

साराभाइ भर्सेज साराभाइबाट ‘जस्मिन’ भनेर चिनिने वैभवी उपाध्याय, एक अद्भूत अभिनेत्री र प्रिय साथीको उत्तर (भारत) मा सडक दुर्घटनामा मृत्यु भयो’, उहाँले एक इन्स्टाग्राम स्टोरीमा लेख्नुभएको छ। सडक दुर्घटनाको कारण भने खुल्न सकेको छैन । वैभवीले सन् २०२० मा दीपिका पादुकोणसँग चलचित्र ‘छपाक’मा पनि काम गर्नुभएको थियो ।