काठमाडौं := सनिषा भट्टराई नेपाली कला क्षेत्रमा उम्दा कलाकारका रूपमा आउनुभएको छ । उहाँले एक दर्जनजति गीतका भिडियोमार्फत् आफ्नो कला प्रस्तुत गर्नुभएको छ । पोखराकी सिनषाले ‘सनसिल्क’को विज्ञापनमा पनि अभिनय गर्नुभएको छ ।
पोखराको जेमसी कलेजमा स्नातक तहमा छैटौँ सेमेस्टरमा ब्याचलर अफ इनफर्मेसन म्यानेजमेन्ट अध्ययनरत सिनषाको डेब्यु गीत ‘ए हो र माया’ रहेको थियो । हिमाल सागर र अनु चौधरीको स्वरमा रहेको यो गीतको भिडियोले करोड भ्युज पाइसकेको छ ।
पहिलो भिडियो नै सफल भएपछि उहाँ यो क्षेत्रमा व्यस्त हुँदै जानुभएको छ । आफ्नो एक वर्षको अनुभवमा इमानदारितापूर्वक लाग्ने हो भने कलाकारिताबाट नाम र दाम दुवै कमाउन सकिन्छ भन्नुहुने सिनषा भट्टराईसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंश –
यहाँ ब्याचलर अफ इनफर्मेसन म्यानेजमेन्टको विद्यार्थी, कसरी मोडलिङको क्षेत्रमा आउनुभयो ?
मेरो सानैदेखिको इच्छा थियो मोडल र कलाकार बन्ने । मेरो भित्री मनको इच्छा भएकाले अभिनेता विमल अधिकारीले आफ्नो गीतमा मोडलका रूपमा अफर गरेपछि म परिवारको सल्लाहले नै यता आएकी हुँ ।
भनेपछि परिवारको पूर्ण समर्थन पाउनुभएको छ ?
हजुर । बाबा–ममीको सल्लाहले नै म यो क्षेत्रमा आएकी हुँ । घर–परिवारको सहमति भएर नै ढुक्कले काम गर्ने मौका पाएँ । छोटो समयमा नै धेरै कामका अफरहरू आएकाले बाबा–ममी सबैजना खुसी हुनुहुन्छ ।
तपाईंचाहिँ कति खुसी हुनुहुन्छ नि ?
मेरो त खुसीको सिमाना नै छैन । अभिनय नपढेको, नसिकेको मान्छेको पहिलो गीत ‘ए हो र माया’ले दिलाएको सफलताको म शब्दमा नै वर्णन गर्न सक्दिनँ । विमल अधिकारी, हिमाल सागर, अनु चौधरीको टिममा काम गर्न पाउनु मेरो सौभाग्य नै हो भन्नुपर्छ । मलाई आजको यो दिनसम्म ल्याएर यसरी सबैमाझ चिनाउने श्रेय म विमल सरलाई दिन चाहन्छु ।
एक वर्ष पनि भएको छैन म यो क्षेत्रमा आएको तर ‘ए हो र माया’मा काम गरेपछि कैयौँ गीतहरूबाट अफरहरू आएका छन् । मैले सबैलाई सम्मानपूर्वक समय मिलाएर काम गर्छु भनेकी छु । हिजोभन्दा आज व्यस्त बनिरहँदा निकै खुसी लागेको छ । कहिलेकाहीँ त सपनामा पनि अभिनय गरेको देख्न थालेकी छु ।
‘ए हो र माया’पछिको तपाईको मोडलिङ यात्रा कसरी अघि बढिरहेको छ ?
पहिलो गीत ‘ए हो र माया’बाट नै राम्रो सफलता पाएपछि अर्को गीतमा काम गर्नु मेरा लागि निकै चुनौती थियो । त्यहीबीचमा कैयौँ गीतहरूबाट अफर आए । तर, मैले ‘ए हो र माया’पछि डेढ महिना काम गरिनँ र पछि ‘साइँली’मा काम गरें । यो गत वर्षको पुस महिनाको कुरा हो ।
वसन्त विश्वकर्माको संगीत र स्वरमा रहेको यो गीतमा मैले वसन्त विश्वकर्माकै जोडी भएर अभिनय गरेकी छु । यो मेरो पहिलो लोकदोहोरी गीतको भिडियो हो । दोस्रो गीतको भिडियो छायांकनको समय म बिर्सिन सक्दिनँ । गत वर्षको पुस महिना थियो । त्यो समयमा म पिरियड भएका बेला परेका कारण निकै तनावमा काम सकियो ।
जुन कुलेखानीमा छायांकन भएको थियो । चिसोमा मिन्स भएका कारण मेरा दुई दिन निकै कष्टकर तरिकाले बिते । बाथरुम र सामान्य ट्वाइलेटसमेत सुटिङस्थलमा नभेटिँदाका ती दिन अझै पनि सम्झिरहेकी छु । काठमाडौं नजिकैको पर्यटकीयस्थलमा त यस्तो दुर्दशा छ भने दूरदराजका गाउँमा के होला भन्ने लागिरहन्छ ।
‘साइँली’ले पनि राम्रो चर्चा पायो । त्यसपछि तेस्रो गीत ‘ठिटो झापाको’मा गायक आशिष सचिनसँग काम गरें । त्यसपछि अभिनेता पल शाहसँग सहकार्य गर्ने मौका पाएँ ‘तिम्लाई हेर्ने बानी पर्यो’ फिमेल भर्सनमा । पलजी मलाई निकै मिलनसार र सहयोगी लाग्यो । पलजीसँग सहकार्य गरेको ‘तिम्लाई हेर्ने बानी पर्यो’ हालैमात्र रिलिज भएको छ । उहाँसँगै सहकार्य गरेको अर्को प्रोजेक्ट रिलिजको तयारीमा छ भने अहिलेसम्म करिब एक दर्जन भिडियोमा काम गरिसकेकी छु ।