भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कारवाही गर्न राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई बुझायो ज्ञापनपत्र।

काठमाडौं := राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)ले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कारवाही अगाडि बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। केन्द्रका अध्यक्ष राजेन्द्र लिङ्देनसहितको टोलीले शुक्रबार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो।

साथै देशभरका सबै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध ज्ञापनपत्र बुझाएको छ । राप्रपाले २०४६ पछिका सबै उच्च पदस्थ नेताकाे सम्पत्ति छानविन गरेर अवैध सम्पत्ति जफत गरियोस् भन्ने मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे हाे ।

संगठित भ्रष्टाचारविरुद्धको कार्यक्रममा सहभागी हुन सबैमा आह्वान गरेको राप्रपाले केही दिनअघि प्रतिनिधिसभा बैठकमा पनि भ्रष्टाचारविरुद्ध जोडदार आवाज उठाएको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणबारे राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्न समय मागेका थिए ।

तर, सभामुख देवराज घिमिरेले नदिएपछि राप्रपाका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । सदनदेखि सडकसम्म भ्रष्टाचारविरुद्ध आवाज बुलन्द गरेका राप्रपा अध्यक्ष लिङ्देनले ‘भ्रष्टाचार गर्नु  आमाको रगत खानुसरह हो’ भन्दै आएका छन् ।