एजेन्सी:= रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा रियलले ओसासुनालाई २–१ ले हराउँदै उपाधि जितेको हो। रियललाई विजयी गराउन रोड्रिगोले दुई गोल गरे । पराजित टोली ओसासुनाका लुकास टोरोले एक गोल फर्काए ।
खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुूवाती अग्रता दिलाए । तर, ५८ औं मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ७० औं मिनेटमा रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाए ।

रियलले सन् २०१४ यता पहिलो पटक कोपा डेल रे फुटबलको उपाधि जितेको हो । रियलले भने २०औं पटक कोपा डेल रेको उपाधि जितेको हो । स्पेनको निकै पुरानो प्रतियोगितामध्येको एक कोपा डेल रेको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने बार्सिलोना हो ।
बार्सिलोनाले हालसम्म ३१ पटक कोपा डेल रेको उपाधि जितेको छ । सर्वाधिक उपाधि जित्ने क्लबको सूचिमा दोस्रो स्थानमा रहेको एथलेटिक बिल्बाओले भने २३ पटक उपाधि हात पारेको छ ।




















