प्रकृतिको पुजारी किराँत समुदायले आज उभौली पर्व मनाउँदै।

काठमाडौं := प्रकृतिको पुजारी किराँत समुदायले बैशाख प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामसहित मनाउदै छन् ।मुख्यत अन्न बाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै किरात समुदायले यस उभौली पर्व मनाउँने गरिन्छ ।

किरात समुदायले मुख्यत: दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ। उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरुले मान्दै आएका छन । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

यस दिन चण्डी नाचिन्छ, जसकाकारण यसलाई बोलिचालीको भाषामा आज चण्डी पूर्णिमा पनि भनिन्छ । आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रुपमा किराँतहरुले यस दिनलाई सम्झने गरेका छन् ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।

यो पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्डलगायत पूर्वप्रधानमन्त्री, सभामुखलगायतका नेताहरूले शुभकामना दिएका छन् ।