सिरहामा भएको आगलागीबाट चारवटा घर जल्यो, लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट।

सिरहा:= सिरहामा भएको आगलागीबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।  सिरहा नगरपालिका-१८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो ।

ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्री जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ ।’

उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए । बुधेश्वरले भन्नुभयाे, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’

राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिनुभयाे ।

आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए । उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन् ।

त्यसैगरी,  सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ । आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ । विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।