ग्लोबल आइएमई बैंकद्वारा मण्डला चित्रकला सहितको २०८० को क्यालेण्डर सार्वजनिक।

काठमाडौं := ग्लोबल आइएमई बैंकले मण्डला चित्रकला समावेश गरिएको २०८० को क्यालेण्डर सार्वजनिक गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्रका कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरूपमा क्यालेण्डर सार्वजनिक गर्नुभएको हो।

ग्लोबल आइएमई बैंकले हरेक वर्ष क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्पराको प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ। बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डरमार्फत् मण्डला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्न सक्ने बताउनुभयो। मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेको संस्कृति फैलाउने अभियानमा ग्लोबल आइएमई बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको भन्दै उहाँले आगामी दिनमा पनि लोक, कला, संस्कृति र कलाकार प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताउनुभयो।

चित्रकलामा दुई दशकदेखि सक्रिय कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले तयार गरेको मण्डला चित्रकलालाई क्यालेण्डरमा समाविष्ट गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले जानकारी दिनुभयो । नेपालको मौलिक मण्डला चित्र मुलुकभर क्यालेण्डरमार्फत् फैलाउने तथा कलाकारको योगदानलाई सम्मान गर्ने आफूहरूको प्रयास रहेको उहाँको भनाइ थियो । सो अवसरमा बैंक अध्यक्ष ढकालले कलाकारद्वयलाई सम्मानसमेत गर्नुभएको थियो।