फ़ेरि सत्तामा फर्कियो नेपाली कांग्रेस पार्टी।

काठमाडौं := प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि सरकारबाट बाहिरिएको नेपाली कांग्रेस ८३ दिनमै सत्तापक्ष बन्न पुगेको छ । कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन छाड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएसँगै कांग्रेस सत्ताबाट बाहिरिएको थियो ।

पुरानो गठबन्धन जोगाउन नसकेको भन्दै आफ्नै पार्टीभित्रबाट सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भएपछि कांग्रेसले पुस २६ गते प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर सहकार्यको हात बढाएको थियो। आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता पक्षको बेन्चमा बसेको कांग्रेस १ २ दिनभित्रै संघीय सरकारमा फेरि सहभागी हुनेछ ।

सुदूरपश्चिमबाट प्रदेश सरकारको नेतृत्व सुरु गरेको कांग्रेस केही दिनभित्र अन्य प्रदेशमा पनि सहभागी हुने भएको छ। सरकारको नेतृत्व सम्हालेको ८४ दिनमा प्रचण्डले प्रतिनिधि सभाबाट सोमबार दोस्रोपटक विश्वासको मत लिएका छन् । प्रतिनिधि सभाका दुई दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्डको विपक्षमा उभिएका छन्। नेपाल मजदुर किसान पार्टी भने तटस्थ बसेको छ ।

संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले सोमबार विश्वासको मत लिएका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १०० को २ मा लेखिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।