बाङ्लादेश := यू–१७ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पराजित भएको छ । बंगलादेशको ढाकामा सोमबार भएको खेलमा नेपाल भारतसँग ४–१ ले पराजित भएको हो। खेलमा भारतलाई विजयी गराउन शिल्जी शाजीले ह्याट्रिक गर्दा पूजाले एक गोल थपिन् । नेपालका लागि वर्षा ओलीले एक गोल गरिन् ।
खेलको १० औं मिनेटमा शिल्जीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिइन् । ४० औं मिनेटमा शिल्जीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई दोब्बर अग्रता दिलाईन । ४१ औं मिनेटमा पूजाले गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाईन । ५४ औं मिनेटमा वर्षाले गोल गर्दै नेपाललाई ३–१ को स्थितिमा ल्याईन्। त्यसपछि ८० औं मिनेटमा शिल्जीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४–१ को जित दिलाईन् ।
जितसँगै भारतले पहिलो खेलबाट ३ अंक जोड्दा नेपालले भने खराब सुरुवात गरेको छ। प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ ।राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।




















