एजेन्सी:= रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन संकट अन्त्यका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङको १२ बुँदे प्रस्तावमा छलफल गर्ने बचन दिनुभएको छ। रुस भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सीसँगको भेटवार्तापछि पुटिनले उक्त योजनामाथि छलफल गर्ने बचन दिनुभएको हो ।
पुटिनले युक्रेनसँगका जुनसुकै समस्या समाधानका लागि रुस वार्ता र संवादका लागि सधैं तयार रहेको पनि बताउनुभएको छ।अन्तर्राष्ट्रिय न्यायका सिद्धान्तहरु पालना गरेको र हरेक देशका लागि सहयोगी भूमिका निर्वाह गरेको भन्दै पुटिनले चीनको खुलेर प्रशंसा गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सीले भने पुटिनकै नेतृत्वमा रुसले विकास र ठूलो प्रगति गरेको प्रसँग उल्लेख गर्दैै रुसी जनताले सधैं पुटिनलाई साथ दिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया दिनुभयो।
चिनियाँ राष्ट्रपतिको मस्को भ्रमणलाई लिएर विश्व समुदायबाट मिश्रित प्रतिक्रिया आएको छ । अमेरिका लगायत पश्चिमा जगतले शान्ति स्थापनाको नाममा चिनियाँ प्रस्तावमा नफस्न युक्रेनलाई सचेत गराएका छन् ।
युक्रेनको राष्ट्रिय सुरक्षा परिषदका सचिव आलेक्सी दानिलोभले चीनले रुसलाई हतियार आपूर्ति नगर्नेमा विश्वस्त रहेको भन्दै चीनले रुसलाई हतियार आपूर्ति गरेको खण्डमा त्यसको परिणाम भने नराम्रो हुने बताउनुभएको छ ।




















