विष्फोटबाट बंगलादेशमा १५ जना मानिस को मृत्यु, एकसय भन्दा बढी घाइते।

बंगलादेश:= बंगलादेशमा एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १५ जनाको शव अस्पतालमा ल्याइएको छ ।

अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।

घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

विष्फोट ७ तले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।

गत वर्ष देशको मुख्य बन्दरगाह चटगाउँ नजिक रहेको सिपिङ कन्टेनर डिपोमा आगो लाग्दा नौजना अग्निनियन्त्रकसहित ४१ जनाले ज्यान गुमाएका थिए भने १०० भन्दा बढी घाइते भएका थिए ।