काठमाडौं:= ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी बुधबार मनाइँदैछ । नेपालसहित विश्वभर बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदै छ ।नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ । सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्यूयोर्कस्थित कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण तथा असमानता विरुद्ध सडक आन्दोलन गरेको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिला अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलन गरेका थिए । जसमा १७ देशका एकसय महिलाको सहभागिता थियो ।
१९११ मा पहिलो पटक, अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्डलगायत देशहरुमा पनि नारी दिवस मनाइएको थियो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् ।
कसरी सुरु भयो नारी दिवस ?
सन १९०८ मो न्यूयोर्क सिटीमा १५ हजार महिलाले सामूहिक रुपमा नै काम गर्ने समय थोरै हुनुपर्ने, राम्रो समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित वृहत र्यालीमार्फत महिला आन्दोलन गरेका थिए । आन्दोलनको माग सम्बोधनसहित त्यसको एक वर्षपछि अमेरिकाको तत्कालीन समाजवादी पार्टीले पहिलो पटक अमेरिकामा राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो ।
तर, अमेरिकामा मात्रै होइन, यसलाई अन्तर्राष्ट्रिय दिवस बनाउनुपर्ने भन्दै सुरुमा नारीवादी नेतृ क्लारा जेट्किनले बहस सुरु गरिन् । सन १९१० मा कोपनहेगनमा भएको कामकाजी महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले यो विषयलाई औपचारिक रुपमा प्रवेश गराइन्, जुन सम्मेलनमा १७ देशका १०० भन्दा बढी महिला नेतृहरुको सहभागीता रहेको थियो । जेट्किनको यो प्रस्तावमा सहभागी सबै राष्ट्रका महिलाहरुले सहमति जनाए ।
सो सम्मेलनपछि पहिलो पटक सन १९११ मा अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा अस्ट्रिया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डामा औपचारिक रुपमा नै मनाउन सुरु गरियाे । क्रमश: अन्य देशले पनि यस दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउन सुरु गरे । यो आ-आफनो देशअनुसार मनाउने चलन क्रमश: बढ्दै गयो ।
सन १९१७ मा भएको युद्धकालीन आन्दोलनमा रुसी महिलाहरूले ‘रोटी र शान्ति’ को माग नगर्दासम्म यसले औपचारिकता पाएको थिएन । सो आन्दोलनले महिला आन्दोलनलाई झनै उचाइमा लगिदियो । सो महिला आन्दोलनको चार दिनपछि रुसका तत्कालीन सम्राट पद त्याग्न बाध्य भए र त्यहाँको अस्थायी सरकारले महिलालाई मतदानको अधिकार दियो ।
संयुक्त राष्ट्रसङ्घले सन् १९७५ मा यो दिवस मनाउन थालेपछि मात्र बल्ल यसले विश्वभरका लागि आधिकारिक मान्यता पायो र राष्ट्र संघका सबै सदस्यले यसलाई संसारभर मनाउन थाले ।




















