क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पछिल्लो समययता मलेसियाको श्रम बजार सुधारोन्मुख गतिमा अगाडि बढिरहेको बताउनुभएको छ।
राजदूत पौडेलले भनेअनुसार पछिल्लो समय आरबीए आबद्ध रोजगारदाता कम्पनीहरुले श्रमिकमैत्री श्रम बजार बनाउन सहयोग गरिरहेका छन् भन्नुभयो।
राजदूत पौडेलले भन्नुभयो , स्रोत देशदेखि गन्तव्यसम्म श्रमिकमाथि कुनै शोषण हुनुहुँदैन भनेर रोजगारदाताले ध्यान दिएको देखिन्छ । श्रमिकले पाउनुपर्ने सेवासुविधा, बासस्थानको गुणस्तर, वातावरण, कार्यस्थलको सुरक्षा, कार्यघन्टा, ओभरटाइमले व्यवस्था कार्यान्वयनमा गइरहेको देखिन्छ । मलेसियाका अन्य क्षेत्रमा पनि आरबीए लागू हुनुपर्ने आवाज उठिरहेको छ । स्रोत देशमा नै पैसा लेनदेन भएको सुनिन्छ ।
राज्य फ्रि भिसा, फ्रि टिकट हुनुपर्छ भन्नेमा प्रस्ट छ । चाहे त्यो आरबीएमा आएको होस् वा नहोस् । आरबीए लागू भएको ठाउँमा चाहिँ पैसा लिन नपाउने र अन्य ठाउँमा पैसा लिन पाउने भन्ने नेपाल सरकारको धारणा होइन । आमरूपमा शून्य लागत नै हो ।
शून्य लागतमा कहींकतै समस्या आउँछ भने त्यसको समाधानमा सरकारले नै शून्य सहनशीलता अपनाउनुपर्छ । अहिलेको बजारमा श्रमिकमाथिको आर्थिक शोषणको असर गन्तव्य देशमा पर्न सक्ने भएकाले स्रोत देशमा हुने आर्थिक चलखेल हाम्रो नितान्त आफ्नो समस्या हो ।
‘शून्य लागतले मात्रै ठगी रोक्छ’
एकनारायण अर्याल, श्रमसचिव
नेपालले मलेसियासहित गन्तव्य देशसँग न्यायोचित भर्ना प्रक्रिया अवलम्बन गर्ने नीतिअनुसार श्रम सम्झौता गरेको छ । यो अभ्यासलाई वैदेशिक रोजगार ऐनमा नै प्रस्ट रूपमा राख्न जरुरी छ । जसले शून्य लागतमा कामदार पठाउँछ, त्यस्तो म्यानपावर कम्पनीलाई राज्यले सुविधा दिनुपर्ने हुन्छ । हामीले पहिलो प्राथमिकता नै शून्य लागत हो भनेर श्रम सम्झौता परिमार्जन गर्न जरुरी छ ।
नेपालले शून्य लागतको नीतिभन्दा बाहिर गएर कामदार पठाउने छैन भनेर अन्तर्राष्ट्रिय श्रम बजारमा एउटा सन्देश दिन जरुरी छ । पैसा तिरेर मागपत्र ल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्न दुई देशबीचको निकायबीच एउटा सम्झौता हुनुपर्छ । अहिले १० हजार रुपैयाँको सेवा शुल्कले त पुग्दैन ।
कामदार ३ लाख रुपैयाँसम्म बुझाएर गएका छन् । ऐनमा नै उचित सेवा शुल्क तोक्न जरुरी छ । व्यवसायीलाई पनि करमा लैजानुपर्छ । बरु हामीले अनुगमन प्रणालीलाई सशक्त बनाउनुपर्छ । वैदेशिक रोजगार ऐनलाई संशोधनमा राखेर सेवा शुल्क तोक्ने पक्षमा छौं । Source : Kantipur.com




















