[ कृष्ण भुसाल ]
काठमाडौं:= आज (बुधबार) ३०१औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उहाँको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।
यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकोमा पछिल्लो समय कटौती गरिएकामा पुनः यो वर्षदेखि बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।
विगतका वर्षमा पृथ्वीजयन्ती राष्ट्रिय रूपमा सार्वजनिक बिदा नदिएको भए पनि गोरखालगायत केही स्थानीय तहले सार्वजनिक बिदा दिएका थिए । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको स्मरणमा सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको विभिन्न क्षेत्रबाट स्वागत भएको छ ।
पृथ्वीनारायण शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरूको भनाइ रहँदै आएको थियो । पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन र राष्ट्रिय पर्व घोषणा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि माग गर्दै आएको थियो । सत्ता साझेदार दल राप्रपाले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने अडान राख्दै सरकारमा सामेल हुन यसलाई अनिवार्य शर्त बनाएको थियो ।
दोस्रो जनान्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेकामा विसं २०६२/६३ को राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य गरिएको थियो । आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेको थियो ।
गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स-साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।
भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उहाँको वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो ।पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा हुनुभएको थियो । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गर्नुभएको थियो ।
विसं १८०१ असोज १५गते नुवाकोटमाथि विजय हासिल गरेर उहाँले नेपाल एकीकरणको अभियान प्रारम्भ गर्नुभएको थियो । त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाँले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पु¥याउनुभएको थियो । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गर्नुभएको थियो तर त्यो पूर्ण हुन सकेन जे होस् नेपाल एकीकरण महान् अभियान उहाँले सुरुवात गर्नुभएको थियो । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गर्नुभएको छ ।
पृथ्वीनारायण शाहका दिव्य उपदेश जुन अहिले पनि उत्तिकै सान्दर्भिक
पृथ्वी नारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उहाँ दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । विसं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट जानुभएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी पर्नुभयो । स्वास्थ्य झनझन् खराब हुँदै गएपछि उहाँकै इच्छाअनुसार त्यहाँको देवीघाट लगियो ।
नौ दिनसम्म घाटमै रही माघ १ गते ५२ वर्षको उमेरमा उहाँको निधन भयो । घाटमै राखिएको बेला उहाँले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिनुभएको थियो, जसलाई दिव्य उपदेश भनिन्छ ।
यस्ता छन् दिव्य उपदेश
- मुलुकमा अन्याय हुन नदिनु ।
- सधैँ गुणको होइन नुनको पछि लाग्नु ।
- सुरक्षा निकाय र जनताप्रति बफादार रहनु ।
- जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
- आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
- सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
- नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
- काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
- अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु ।
- खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।
पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँरहदा पछिल्लो समय विभिन्न टीका–टिप्पणी हुने गरेका छन् । यस्ता टीका-टिप्पणीप्रति विभिन्न भनाइ सार्वजनिक भइरहेको पाइन्छ ।कसैले माने पनि नमाने पनि पृथ्वीनारायण शाह नेपाल राज्यका एकीकरणकर्ता र राष्ट्रनिर्माता भएको राजनीतिक विश्लेषक तथा अनुसन्धानकर्ता पेशल आचार्य बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘विगतलाई गाली गरेरभन्दा उसबाट पाठ सिकेर आगतलाई स्वर्णीम बनाउनु नै समाजका अभियन्ता र राजनीतिज्ञको काम हो । जनमानसले त गुणदोषका आधारमा हरेक ऐतिहासिक पात्रको छवि आफ्ना मनमा बनाएको हुन्छ । त्यो बन्न पनि समय लाग्छ र मेटिन पनि समय लाग्छ ।’ पृथ्वीनारायण इतिहास भएको भन्दै ‘इतिहासलाई सम्मान गर्नुपर्छ, पुर्खाको नासो र धरोहरकै रूपमा आज हामीले पाएको देश अझ अघि बढाउनुपर्छ’, उहाँ बताउनुहन्छ ।
राजनीतिक विश्लेषक प्राडा. सुरेन्द्र केसी पृथ्वीनारायण शाहलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उहाँप्रतिको सद्भाव हुने बताउनुहुन्छ । ‘उहाँको नाममा व्यापार र वृत्ति चलाउनेले उहाँको उचाइ घटाएका छन्’, उहाँले भन्नुभयो ।
यस्तै, लेखक तथा राजनीतिक विश्लेषक आरसी न्यौपाने आधुनिक राष्ट्र नेपाल निर्माणको अभियानबारे ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट मूल्यांकन गर्दा तत्कालीन वस्तुगत परिस्थितिको टड्कारो आवश्यकता एवं अपरिहार्यताको रूपमा महत्वपूर्ण कदम भनेर बुझ्नु नै युक्तियुक्त र वैज्ञानिक हुने बताउनुहुन्छ ।
विश्व मानचित्रमा नेपालको अस्तित्व र संसारभरि नेपालीहरूको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वीनारायण शाह हुनुहुन्छ । यदि नेपाल देश नभएको भए हामी अहिले नेपाली पहिचानले परिचित हुन सक्ने थिएनौँ । पृथ्वीनारायणको दिवसका सन्दर्भमा हामीले नेपाल नेपालीको बृहत् हित अनुकूल सोच्ने बानी बसाल्नु नै पृथ्वीनारायणप्रतिको सच्चा श्रद्धाञ्जलि र उहाँलाई हेर्ने दृष्टिकोण र मूल्यांकनको सही आधार हुन सक्छ ।
यसमा कुन जाति, धर्म र व्यक्तिलाई कति मर्का पर्यो त्यो कदापि पहिलो विषय रहन जाँदैन दोस्रो मात्र हुन जान्छ किनभने व्यक्ति वा जाति धर्मभन्दा राष्ट्र जहिल्यै पनि माथि हुन्छ। पृथ्वीनारायण शाहले इतिहासमा व्यक्त गरेको पनि यो नै हो ।




















