माघी पर्व नजिकिएसँगै तीब्र तयारीमा जुटे थारु समुदाय।

Tharu community women in traditional attire dance during Maghi festival celebrations, in Chabahil, Kathmandu, Nepal, Tuesday, Jan. 15, 2019. The festival marks the New Year of the Tharus which is one the major ethnic groups in Nepal. POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

कैलाली:= नेपालमा बसोबास गर्ने तराई- मधेसको भुमिपुत्र थारू समुदायको सबैभन्दा ठूलो पर्व माघे संक्रान्ति, तिला संक्रान्ति (माघी) नजिकिएसँगै सो समुदाय ब्यापक तयारीमा जुटेको छ। पश्चिम् कैलाली कंचनपुरदेखि पुर्व झापा जिल्लासम्मका थारु समुदाय यतिखेर खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा संकलन गर्ने, तेल पेल्ने, घर लिपपोत, आँगन सरसफाइलगायत काममा थारु समुदाय व्यस्त छ।

धनगढी उपमहानगरपालिका–३ का शेरबहादुर चौधरी माघीमा विशेष गरी बङ्गुरको मासु, माछा, घोंगी, गंगटोलगायत खाने चलन रहीआएकाले त्यसको तयारीमा जुटेको बताए । यस पर्वमा परिवारका सदस्यका लागि नयाँनयाँ लुगा किनमेल गर्न थालेको उनको भनाइ छ । रोजगारीका लागि बाहिरिएका परिवारका सदस्य यतिबेला पर्व मनाउन घर फर्कन थालेका छन्।

‘माघीमा पाहुना धेरै जम्मा हुने गर्छन्, पाहुनाका लागि  थरीथरीका खानाका परिकार अहिलेदेखि नै बनाउने तयारीमा जुटेका छौँ’, चौधरीले भने। पुसलाई बिदाइ गर्दै माघ १ गतेलाई स्वागत गर्नका लागि रातभर नाचगान गरेर जाग्राम बस्ने चलन रहेको थारू अगुवा बताउँछन् ।

माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुस महिनाको अन्तिम दिन जिता मार्ने चलन छ । थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको थारु कल्याणकारी सभाका कार्यवाहक सभापति माधव चौधरीले बताए ।

‘माघे सङ्क्रान्तिका दिन विशेष गरी थारु समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाइ गरी घरमा अलग्गै छुट्याएर राखिएको चामल, नुन, तेल र बेसारलगायत खाद्यान्न छुने गरिन्छ’, उनले भने, ‘त्यसपछि आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आर्शीवाद दिने गरिन्छ ।’

कोरोना सङ्क्रमणका कारण केही वर्ष माघीको चहलपहल घटे पनि यस वर्ष भने हर्सोल्लासका साथ माघी पर्व मनाउने तयारीमा थारू समुदाय जुटेको छ । माघी पर्व मनाउन गाउँगाउँमा मेला तथा महोत्सवको आयोजना गरिएको छ ।