जग्गाको लालपूर्जा हुँदा समेत महानगरले ज्यादती गरेर घर भत्काएको स्थानीयको आरोप।

काठमाडौं := धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको हो।

तर करिडोरका घरधनीहरुले भने महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्र भन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताउनु भयो ।

उहाँले इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गा भित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको बताउनु भयो । उहाँले करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको बताउनु भयो । आचार्यले घर भएको जग्गा करिडोरले नै निजी जग्गा हो भन्दा भन्दै पनि महानगरले बल प्रयोग गरेको बताउनु भयो ।

उहाँले महानगरले कुनै जानकारी बिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको बताउनु भयो । उहाँले सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैल्याएको बताउनु भयो ।

अर्का एक घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताउनु भयो । उहाँले इन्जिनियरहरुले पनि फरकफरक चिन्ह दिएको भन्दै महानगरले कुनै जानकारी बिना घर भत्काउन उचित नभएको बताउनु भयो। उहाँहरुले महानगर पालिकाको ज्यादतीका लागि अदालत जाने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएरका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको हो ।