काठमाडौं := नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न पार्टी सहमहामन्त्री भीष्मराज आङदाम्वेको नेतृत्वमा निर्वाचन समिति गठन भएको छ। बुधबारभित्र संसदीय दलको नेता चुन्ने बताउँदै आएको कांग्रेसले आङदाम्बेको नेतृत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यहरूमा पुष्पा भुसाल र प्रकाश स्नेही रहेका छन्। कांग्रेस केन्द्रीय सम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘बुधबारसम्म संसदीय दलको नेताका लागि चुनाव हुन्छ ।’ आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन सम्पन्न गर्न समिति गठन गरेसँगै अब कांग्रेसमा दलको नेता को बन्ला भन्ने चासो बढेको छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्री हुने उल्लेख छ ।
कांग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा, पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र गगन थापा संसदीय दलको नेतामा आकांक्षी छन्। नेपाली कांग्रेस प्रतिनिधि सभामा ८९ सिटसहित पहिलो दल बनेको छ। यता नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री बन्ने इच्छा राखे पनि दलको नेताका विषयमा केही बोलेका छैनन् । त्यसैले चुनाव हुने दिनसम्म कोइरालाले कसलाई समर्थन गर्लान् भन्ने चासो देखिएको छ ।
संस्थापन इतर समूहमा कोइराला र महामन्त्री थापामध्ये एकजनालाई दलको नेता बनाउने प्रयास भइरहेको छ । तर, कोइरालाले आगामी महाधिवेशनमा सभापतिको चाहना राखेकाले यसपटक उनी दलको नेतामा नउठ्ने बताइन्छ । तर उनले महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने खुलिसकेको छैन ।
स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री देउवाले नयाँ सरकारमा परराष्ट्रमन्त्रीको अफर गरेका छन् । सोही कारण उनी यसपटक दलको नेतामा देउवातिर खुल्ने सम्भावना धेरै रहेको नेताहरूको अनुमान छ । गत वर्ष सम्पन्न महाधिवेशनमा कोइराला र थापा एउटै समूहबाट चुनावमा गएका थिए । कोइराला सभापतिमा पराजित भए भने थापा महामन्त्रीमा अत्यधिक मतका साथ विजयी भएका थिए ।
यदि कोइरालाले थापालाई समर्थन नगरे कांग्रेस संसदीय दलको नेतामा देउवा नै भारी बहुमतका साथ विजयी हुने अनुमान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकारको दाबी गर्न १० पुससम्मको समय दिएकी छन् ।




















