किलियन एम्बाप्पेले फिफा विश्वकपको फाइनल खेलमा गरे ह्याट्रिक, जिते गोल्डेन बुट।

कतार := फ्रेन्च फरवार्ड सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले विश्वकपको फाइनल खेलमा ह्याट्रिक गरेका छन्। कतारमा जारी विश्वकपको फाइनलमा आइतबार अर्जेन्टिनाविरुद्ध एम्बाप्पेले ह्याट्रिक हानेका हुन्।

यसअघि सन् १९६६ मा इङ्लिस खेलाडी जियोफ हर्स्टले वेस्ट जर्मनीविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए। फाइनल खेलमा एम्बाप्पेले अर्जेन्टिनाले दुईपल्ट अग्रता लिएको अवस्थामा गोल गरी खेल बराबरीमा ल्याएका थिए। पहिलो हाफमै अर्जेन्टिनाले २ गोलको अग्रता बनाएर फ्रान्सलाई दबावमा राखेको थियो ।

दोस्रो हाफमा सुधारिएको फ्रान्सका लागि एम्बाप्पेले २ गोल गरी खेललाई अतिरिक्त समयमा लगेका थिए । उनले ८०औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको अर्को मिनेटमै गोल गरी खेल बराबरी गरेका थिए ।

३० मिनेटको अतिरिक्त समयमा लियोनल मेसीले अर्जेन्टिनाका लागि गोल गर्दा फ्रान्स फेरि पछि परेको थियो । तर, ११८ औं मिनेटमा पेनाल्टीमार्फत नै गोल गरी विश्वकपमा आफ्नो ह्याट्रिक पूरा गरे तथा खेल बराबरीमा ल्याए ।

पेनाल्टी शुटआउटमा फ्रान्सका दुई खेलाडीले गोल गर्न नसक्दा अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी रह्यो । विश्वकपमा ८ गोल गरी एम्बाप्पेले गोल्डेन बुट अवार्ड जितेका छन् । चार वर्षअघि फ्रान्सलाई विश्वकप जिताउन निर्णायक प्रदर्शन गरेका एम्बाप्पेले विश्वकपमा अहिलेसम्म १२ गोल गरेका छन् ।