कतार := पेनाल्टी शूट आउटमा पाँच पटकका विश्वकप विजेता ब्राजिललाई हराउँदै क्रोएसिया कतारमा जारी फिफा विश्वकप-२०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ।क्रोएसियाको पेनाल्टी सुटआउटमा लगातार यो दोस्रो जीत हो।
क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टीशूटआउटमा हराएको थियो । एजुकेसन सिटी स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनलमा क्रोएसियाले पेनाल्टी शूटआउटमा ब्राजिललाई ४-२ ले हरायो । हारपछि ब्राजिल क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
क्रोएसियाका लागि पेनाल्टी प्रहार गरेका निकोला भ्लासिक, लोभरो माजेर, लुका मोडरिच, मिस्लाभ ओर्सिस सबैले गोल गरे । क्रोएसियाका लागि गोलकिपर फेरी नायक बने । उनले ब्राजिलका रोड्रिगोको पहिलो प्रहार नै बचाएका थिए । ब्राजिलका लागि कासेमिरो र पेड्रोले मात्र गोल गरे ।
चौथो नम्बरमा पेनाल्टी प्रहार गरेका मार्क्विन्होसको प्रहार पोष्टमा लागेपछि क्रोएसियाको जित निश्चित भएको थियो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ब्रुनो पेटकोभिचले ११७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए। मिस्लाभ ओर्सिसको पासमा पेटकोभिचको प्रहार ब्राजिलका खेलाडीलाई लाग्दै गोल भएको थियो । त्यही गोलले क्रोएसिया खेलमा फर्कियो र पेनाल्टी शूटआउटमा बाजी मार्यो ।
यता नेयमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए।




















