कांग्रेस-एमाले मिलेर नयाँ सरकार बनाउनुपर्छ: नेता विजयकुमार गच्छदार।

विराटनगर := नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेता विजयकुमार गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताएका छन् ।

विराटनगरमा बिहिवार अपराह्न सञ्चारकर्मीहरूसँगको भेटमा सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीसँग प्रतिनिधि सभा चुनाव हारेका गच्छदारले अस्थिरताको चिन्ता लागेकोले अब कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने बताए।

उनले भने विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उनले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिए । उनले २०४७ सालको उत्कृष्ट संविधान भएर पनि राजनीतिक अस्थिरताले गर्दा असफल भएको भन्दै नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको बताए ।

पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने भन्दै पूर्वउप्रधानमन्त्री गच्छदारले भने, “वर्तमान संविधान जारी गर्न मेरो पनि अहम भूमिका रहेकाले यो संविधानलाई दीगो र बलियो बनाउन स्थिर सरकार आवश्यक छ ।”

अहिले पनि गठबन्धनको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको उनको भनाइ थियो । उनले भने, “निर्वाचनमा जित र हार स्वाभाविक हो, मैले सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्राविधिकरूपमा पराजित भए पनि जनताको मनमस्तिष्कबाट पराजित भएको छैन ।” नेतृत्व हस्तान्तरण एवं परिवर्तन प्राकृतिक कुरा हो भन्दै नेता गच्छदारले जनताले आफूलाई न्याय गरेको टिप्पणी गरे ।