स्पेनलाई टाइब्रेकरमा ३–० ले हराउँदै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा।

कतार := विश्वकप उपाधिको बलियो दावेदार पूर्वविश्व विजेता स्पेनलाई पेनाल्टी शुटआउटमा हराउँदै मोरक्को कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनलाई टाइब्रेकरमा ३–० ले स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो।

दोहाको एजुकेसन सिटी स्टेडियममा मोरक्कोले दर्शकको राम्रो साथ पाउँदा स्पेनलाई १२० मिनेटसम्म गोल गर्न नदिई बराबरीमा रोकेको थियो ।पेनाल्टीमा मोरक्कोका लागि अब्देलहमिद साबिरी, हाकिम जियाच र अच्रफ हाकिमीले गोल गरे । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए ।

सन् २०१० को विश्व च्याम्पियन स्पेनका भने कसैले पनि गोल गर्न सकेनन् । कार्लोस सोलर र कप्तान सर्जियो बुस्केटको प्रहार मोरक्कोका गोलकिपर बोनोले बचाए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो। त्यसअघि निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

अतिरिक्त समयमा अन्तिम मिनेटमा स्पेनका पाब्लो साराबियाले गोल गर्ने राम्रो अवसर गुमाउँदा स्पेनले जितनजिक पुगेर फर्किएको थियो । अन्तिम समयमा उनले गरेको प्रहार पोलमा लागेर बाहिरिएको थियो ।

त्यसअघि पनि दुवै टिमले गोलका केही राम्रा अवसर पाएका थिए । तर फिनिसिङ हुन सकेन । यस्तै स्पेनका गोलकिपर उनाई सिमोन र मोरक्कोका यासिन बोनोले पनि केही राम्रा बचाउ गरेका थिए ।

जारी विश्वकपमा पेनाल्टी शुटआउटबाट नतिजा टुङ्गो लागेको यो दोस्रो खेल हो । यसअघि क्रोएसियाले जापानलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेको छ ।

यस जितसँगै अब मोरक्कोले क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ । साथै मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुगेको छ। मोरक्को यसअघि १९८६ मा  अन्तिम १६ मा पुगेको थियो। त्यो नै मोरक्कोको विश्वकपमा उत्कृष्ट नतिजा थियो।

यता, २०१० को च्याम्पियन स्पेन लगातार दोस्रो पटक अन्तिम १६ बाटै बाहिरियो। सन् २०१४ मा समूह चरणबाट बाहिरिएको स्पेन २०१८ मा रसियासँग टाइब्रेकरमा पराजित भएर बाहिरिएको थियो।