आइएमईको २२औँ साधारण सभा सम्पन्न, आइएमइलाई आईपीओमा लैजाने प्रस्ताव पारित।

काठमाडौं := कम्पनीलाई आईपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानीमा २२औँ साधारण सभा गरेर उक्त प्रस्ताव पारित गरेको हो ।

योसँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ । साधारण सभामा संक्षिप्त मन्तब्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरुको सुझाव र सल्लाहकै वाबाजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गरे ।

अध्यक्ष ढकालले आम सेवाग्राहीवीच आईपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुशी लागेको बताए । त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका सहसंस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल यूगमा प्रवेश गरेको औल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै उर्जावान, पारदर्शी र व्यवसायिक दयारा फराकिलो बनाउन पब्लिकमा लगिएको बताए ।

साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका संचालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गरेका थिए। अव नेपालको सबैभन्दा ठूलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले शीघ्र आईपीओ निष्कासन गर्ने प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए। यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडि बढ्नेछ ।