बारामा विगत केही दिनयता चोरीको घटनामा वृद्धि, जताततै चोरैचोर।

[ सञ्जिवकुमार मिश्र ] 

बारा:= बारामा विगत केही दिनयता चोरीको घटनामा वृद्धि भएको छ । जयप्रकाश साह तेलीको नाममा दर्ता रही साहको भाइ सुनिलकुमार साह तेलीले सञ्चालन गर्दै आएको कलैया उपमहानगरपालिका-१ स्थित न्यु प्रकाश किराना पसलमा बुधबार राति चोरी भएको छ । बाराको सदरमुकाम कलैयास्थित कलैया बजारको मुटु मानिने हनुमान मन्दिरनजिकै रहेको पसलमा चोरहरूले सटरको ताल्चा फोडी चोरी गरेका हुन ।

चोरहरूले साहको पसलको सटरको ताल्चा फोडेर नगद तथा पीठोको प्याकेट र चामलको बोरासमेत चोरेर लगेको साहले बताउनुभयो । साहले भन्नुभयो, ‘दिनहुँजसो पसल सञ्चालन गरी ९ बजेतिर पसल बन्द गर्‍यो । तीनवटा सटर रहेको पसलमा अरू सटरहरू बाहिर र भित्रबाट समेत बन्द गरिएको थियो तर पश्चिमतर्फ मूल सडक तिरको सटरको चोरहरूले ताल्चा फोडेका छन् । त्यतातिर समानहरू राख्ने र्‍याक रहेकाले भित्रबाट सटर बन्द थिएन ।

बाहिरबाट मात्र ताल्चा हालिएको थियो । हामीहरू घरमा सुतिरहेका थियौँ । अचानक बिहीबार बिहान दुई बजे छिमेकीले पसल खुल्ला रहेको भनि जानकारी गराएपछि म हतारहतार तल झरे । छिमेकीहरू बिहेको भोजबाट अबेर घर फर्किंदा पसलको सटर खुल्ला देखेर मलाई जानकारी गराएका थिए । म पसलमा पुग्दा चोरहरूले पीठोका केही प्याकेट र चामलका बोरा र काउण्टरमा रहेको ३० हजार नगदसमेत लुटेर लगेको उहाँले जानकारी दिनुभयो ।’

म पसलमा पुग्नेबित्तिकै प्रहरीलाई फोनमार्फत जानकारी गराएँ। उनीहरू त्यही बेला आएर चोरहरूलाई चाँडै समाउने आश्वासन दिएर पसल हेरेर गए, उहाँले बताउनुभयो । यसैगरी कलैया उपमहानगरपालिका-२७ रामपुरमा रहेको खाजा पसलमा मंगलबार राति चोरहरूले चोरी गरेका छन् । ती पसलबाट समेत नगद तथा सरसमानहरू चोरहरूले चोरेर लगेको वडा नम्बर २७ का पूर्व-वडाध्यक्ष रेयाजुल हक अन्सारीले बताउनुभयो ।

योभन्दा अगाडि कात्तिक महिनामा कलैया उपमहानगरपालिका – २७ कै पिर महम्मद अन्सारीको पसलबाट समेत चोरहरूले नगद तथा सामानहरू चोरेर लगेको अन्सारीले जानकारी दिनुभयो । दिनहुँजसो चोरीको घटनामा वृद्धि हुँदासमेत प्रहरी प्रशासन मूकदर्शक बनेर बसेको अन्सारीले आरोप लगाउनुभयो।

यसैगरी, गत शनिबार कलैया उपमहानगरपालिका-६ पर्सा टोलमा सटर फोडी चोरले चोरी गरेका थिए । त्यहाँबाट समेत कलैया उपमहानगरपालिका-४ का चोर हरिहर मण्डलले नगद तथा सरसमानहरू चोरी गरी लगेको हार्डवेयर पसल सञ्चालक विजय साहले बताउनुभयो । पसलमा चोरी गर्ने मण्डल सिसी क्यामेरामा प्रष्ट देखिएको र उनी अहिले फरार रहेको उहाँले बताउनुभयो ।

चौबिसै घण्टा प्रहरीको निगरानीमा रहने कलैया बजार जस्तो ठाउँमा चोरी हुनु दुःखद कुरा हो, अन्सारीले भन्नुभयो, ‘प्रहरीले आफनो ड्युटी इमानदारीपूर्वक नगर्दा नै चोरीको घटनामा वृद्धि भएको हो । ११ बजे रातिपछि सदरमुकामको मुख्य चोक भरत चोकमै प्रहरी हुँदैन । गस्ती पनि बन्द छ । प्रहरी गस्ती नहुँदा चोरहरूको मनोबल बढेको हो । पहिला पहिला चोरी हुन्नथ्यो तर, अब त दिनहुँजसो चोरीको घटना हुन थालेका छन् ।

बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहले चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनको लागि लज्जास्पद कुरा भएको बताउनुभयो । २४ सै घण्टा प्रहरी प्रशासन रहने ठाउँमा यसरी चोरीको घटना वृद्धि हुनु प्रहरी प्रशासनले आफ्नो काम कर्तव्यबाट पन्छिएको प्रत्यक्ष प्रमाण हो । प्रहरी प्रशासनले इमानदारीपूर्वक आफ्नो कर्तव्यको पालना नगरेकै कारण चोरीको घटनामा वृद्धि भएको उहाँले आरोप लगाउनुभयो ।

जनताको जिउधनको सुरक्षाभन्दा आफ्नो खल्ती भर्ने र तस्करी गराउने काममा प्रहरी सक्रिय हुँदा जिल्लामा अहिले चोरीको घटनामा वृद्धि भएको उहाँले बताउनुभयो। यता, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापा भने प्रहरीले दिनहुँजसो गस्ती गरिरहेको बताउनुहुन्छ ।