फिफा विश्वकप फुटबल: नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडे।

काठमाडौं := कतारमा जारी फिफा विश्वकप फुटबल-२०२२ मा नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेल्दै अंक बाँडेका छन् ।खालिफा अन्तराष्ट्रिय स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने नेदरल्यान्ड्सले बनाएको थियो । खेलको छैटौं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए। तर, नेदरल्यान्ड्सले दोस्रो हाफमा अग्रता जोगाउन सकेन ।

खेलको ४९ औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसअघि पहिलो हाफको इन्जुरी समयमा इक्वेडरका प्लाटा स्टुपिनानले गोल गरेका थिए । तर, भीएआरले अफसाइड गोल देखाएपछि उनको गोलले मान्यता पाएन ।

यस बराबरीसँगै समूह ‘ए’ मा रहेका नेदरल्यान्ड्स र इक्वेडरले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।नेदरल्यान्ड्स २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।इक्वेडर ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा सेनेगललाई २-० ले हराएको थियो । यस्तै इक्वेडरले आयोजक कतारलाई २-० ले नै हराएको थियो ।यस समूहमा सेनेगल ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस समूहबाट कतार भने समूह चरणबाट बाहिरिएको छ लगातार दुई हार ब्यहोरेको कतारले अंक जोड्न सकेको छैन ।