म माथि लागेको ७० करोड घुस काण्डको आरोप काभ्रेका जनताले खारेज गरिदिए: गोकुल बास्कोटा।

काठमाडौं:= एमाले स्थायी कमिटी सदस्य निर्वाचनमा उठेका उम्मेदवार गोकुल बास्कोटाले आफूमाथि लाग्दै आएको ७० करोड घुस मागेको काण्डको आरोप जनअदालतले खारेज गरिदिएको बताएका छन् ।

काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि शुक्रबार बनेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफूमाथि मिथ्या आरोप लागेको भन्दै काभ्रेली जनताले त्यसलाई खारेज गरिदिएको बताएका हुन् ।

‘ममाथि अनावश्यक रूपमा त्यस्तो आरोप लगाइयो । चुनावका बेला अरु कुनै मुद्दा नपाएपछि विपक्षीले त्यस्तो प्रचार गर्ने नै भए । हामी देशको कानुन र संविधानअनुसार काम गर्छौं । त्यो आरोप अब इतिहासको गर्तमा विलिन भइसक्यो । अहिलेको निर्वाचनमा ममाथि लागेको आरोप काभ्रेली जनताले खारेज गरिदिएको छ,’ बास्कोटाले भने ।

नेता बास्कोटाले नयाँ सरकारको भविष्यबारे केही नबोल्ने बताए। ‘अहिले नै त्यस विषयमा बोल्नु उपयुक्त हुन्न,’ उनले भने।