फिफा विश्वकप फुटबल: घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलको सुखद सुरुआत।

एजेन्सी (कतार):= उपाधि दाबेदार पोर्चुगलले कतार फिफा विश्वकप फुटबल-२०२२ मा विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत गरेको हो ।

खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए । घानाका मोहमदले रोनाल्डोलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । जसमा रोनाल्डोले सहजै गोल गरे ।

खेलको ७३ औं मिनेटमा आन्द्रे एयुले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए । तर, ७८ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा राफायल लियोले गोल गरेपछि पोर्चुगल ३-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ८९ औं मिनेटमा घानामा ओस्मान बुकारीले गोल गरेपनि पोर्चुगल ३-२ ले विजयी भयो। यस जितसँगै समूह ‘एच’ को पोर्चुगलले पहिलो खेलमा ३ अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा रहेको छ ।