बाजुरा := बाजुरामा जब जब चुनाव आउँछ , तब – तब झगडा लडाइँमा मानिसहरुको मृत्यु हुने गरेको पाइएको छ । चुनावमा मतदानको बेला काङ्ग्रेस एमाले पार्टीको नाममा एक – आपसमै स्थानीयहरु लडाइँ झगडा गर्ने गर्दछन्। सोही क्रममा बाजुरामा पुनः अनेरास्ववियुका नेताको हत्या गरिएको छ।
आइतबार मतदानका क्रममा भएको विवादलाई लिएर राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट गम्भीर घाइते हुनुभएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । दिउँसो वडा नम्बर ७ को नाटेश्वरी मतदान केन्द्रमा भएको विवादको विषयलाई लिएर अयडीमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
अयडी नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष हो । अयडीको पारिवारिक स्रोतले घरबाट झिकेर बीभत्स ढंगबाट हत्या गरिएको बताएका छन् ।
त्यस्तै आइतबार नै मतदानमा भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अयडीको मृत्यु भएको थियो । गोली लागि मृत्यु भएका अयडी नेपाली कांग्रेसका कार्यकर्ता हुन् ।