श्रमस्वीकृति अब विदेशबाट पनि लिन सकिने।

काठमाडौं := श्रमस्वीकृति नगरेको कारण विदेशमा मृत्यु हुने कामदारका परिवारले कल्याणकारी कोषबाट कुनै सहयोग नपाउने अवस्था बनेपछि सरकारले विदेशमा नै श्रमस्वीकृति लिन सकिने व्यवस्था गरेको छ ।

अहिलेसम्म नेपालबाट मात्र श्रम स्वीकृति दिने व्यवस्था थियो । विदेशमा मृत्यु, अगंभंग र बिरामी हुने श्रमिकको कल्याणकारी अधिकारलाई सुनिश्चित गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गन्तव्य विदेशमा रहेका नेपाली श्रमिकलाई गन्तव्य मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गर्न सूचना जारी गरेको हो।

श्रमस्वीकृति नवीकरण नगरेका श्रमिकको मृत्यु भएमा वा अंगभंग र बिरामी हुँदा उपचारलगायत सामाजिक सुरक्षा सेवाबाट वञ्चित भएपछि श्रमस्वीकृति नविकरण गर्न मन्त्रालयले अनुरोध गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा.थानेश्वर भुसालले विदेशमा रोजगारीका लागि गएका नेपाली श्रमिकले आफूले लिएको श्रमस्वीकृतिको अवधि समाप्त हुनुअघि नै अनलाइनमार्फत आफू कार्यरत रहेको मुलुकबाट नै श्रमस्वीकृति नवीकरण गरी श्रमिक र उनीहरूका परिवारले पाउने कल्याणकारी सेवा सुविधा उपभोग गर्न अनुरोध गरिएको जानकारी दिए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।