काठमाडौं:= चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम तीन महिना अर्थात् साउनदेखि असोजसम्म वैदेशिक व्यापार अघिल्लो आवको तुलनामा १८.५ प्रतिशतले घटेर चार खर्ब ४२ अर्ब ८२ करोडमा झरेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.४ प्रतिशत र ९०.६ प्रतिशत रहेको छ ।
सो अवधिमा निर्याततर्फ पनि ३५.७ प्रतिशतले घटेर ४१ खर्ब ८२ करोड तथा आयात १६.२ प्रतिशतले घटेर चार खर्ब एक अर्बमा झरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । आव २०७८/०७९ को तीन महिनाको निकासी-आयात व्यापारको अनुपात १ः७.४ रहेकोमा आव २०७९/०८० को सोही अवधिमा सो अनुपात १ः९.६ रहेको छ ।
सो अवधिमा पामतेलको निर्यात ४०.४१ प्रतिशतले घटेर आठ अर्ब पाँच करोडमा झरेको छ भने भटमास तेलको निर्यात ८५.६४ प्रतिशतले घटेर तीन अर्ब १६ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यात भने २५.११ प्रतिशतले बढेर तीन अर्ब सात करोड पुगेको छ ।
त्यस्तै पोलिष्टर यार्न निर्यात ०.४ प्रतिशतले बढेर तीन अर्ब सात करोड, फलाम तथा तिनका उत्पादन निर्यात ५२६.३४ प्रतिशतले बढेर दुई अर्ब २७ करोड, जुट तथा जुटका उत्पादन निर्यात १०.६६ प्रतिशतले घटेर दुई २ अर्ब ११ करोडमा सीमित भएको छ भने तयारी पोशाक निर्यात ३१.३४ प्रतिशतले बढेर दुई अर्ब ३८ करोड पुगेको छ ।
पामतेल निर्यात ४०.४१ प्रतिशतले घटेर आठ अर्ब पाँच करोडमा झरेको छ भने भटमास तेल निर्यात ८५.६४ प्रतिशतले घटेर तीन अर्ब १६ करोडमा सीमित भएको छ । ऊनी गलैंचाको निर्यात भने २५.११ प्रतिशतले बढेर तीन अर्ब सात करोड पुगेको छ ।
त्यसैगरी अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात ०.१५ प्रतिशतले बढेर एक अर्ब ७२ करोड पुगेको छ भने जुस निर्यात ५.४७ प्रतिशतले बढेर एक अर्ब छ करोड पुगेको छ । कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान ओगट्दै आएको उत्पादन अलैंची निर्यात ६.० प्रतिशतले घटेर एक अर्ब २० करोडमा सीमित हुन पुगेको छ भने चिया निर्यात ३०.१७ प्रतिशतले बढेर एक अर्ब ३१ करोड पुगेको छ ।
पामको तेलमा पाँच अर्ब ४६ करोड बराबरको निर्यात मूल्यमा कमी आएको छ । चालु आवको प्रथम तीन महिनामा प्रशोधित खाद्य तेल (भटमासको तेल, पामतेल, सूर्यमुखी तेल) को निर्यात नेपालको कुल निर्यातमा २७.१९ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रूपमा देखा परेको छ । सो अवधिमा उल्लेखित वस्तुको कुल निर्यात ११ अर्ब ३७ करोड पुगेको छ । पामतेल, भटमास तेल तथा सूर्यमुखी तेल निर्यात हिस्सा नेपालको कुल निर्यातमा क्रमशःः १९.२६ प्रतिशत, ७.५६ र ०.३७ प्रतिशत रहेको छ ।
भारततर्फको निर्यात भने ४५.० प्रतिशतले घटेर २८ अर्ब ९७ करोडमा झरेको छ । भारततर्फ निर्यात घट्नुको कारण भारततर्फ हुने पामतेलमा पाँच अर्ब ४६ करोड बराबरको ह्रास आउनु नै प्रमुख रहेको केन्द्रले जनाएको छ । कुल निर्यातमा अघिल्लो आवको सोही अवधिमा भारततर्फको हिस्सा ८१.० प्रतिशत रहेकोमा चालु आवमा सो हिस्सा ६९.२ प्रतिशतमा झरेको छ । नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकमा अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा, नेदरल्याण्ड्स, डेनमार्क, सिंगापुर र चीन प्रमुख रहेका छन् ।
आयाततर्फ चालु आवको प्रथम तीन महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा पेट्रोलियम आयातमा ३०.१ प्रतिशतले बढेर ७० अर्ब १५ करोड पुगेको छ । फलाम तथा स्टिल र तिनका
उत्पादन आयात भने १६.४ प्रतिशतले घटेर ३९ अर्ब ९० करोड, मेसिनरी तथा पार्ट्स २८.२ प्रतिशतले घटेर
२५ अर्ब २२ करोडमा झरेको छ भने यातायात साधन र तिनका पार्टपूर्जा आयात पनि ५५.६ प्रतिशतले घटेर १५ अर्ब २६ करोडमा झरेको छ । इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ११.२ प्रतिशतले घटेर १४ अर्ब ९५ करोड, कच्चा भटमास तेल आयातमा ३१.९ प्रतिशतले घटेर १४ खर्ब चार करोडमा झरेको छ ।
त्यसैगरी औषधिको आयात १९.५ प्रतिशतले बढेर १३ अर्ब ७२ करोड, दूरसञ्चारका सामग्री आयात ४३.४ प्रतिशतले घटेर ११ अर्ब ५७ करोड, सुन आयात ४.० प्रतिशतले बढेर ११ अर्ब ५७ करोड पुगेको छ । कच्चा पामतेल आयात २२.६ प्रतिशतले घटेर नौ अर्ब ९७ करोड, खाद्यान्न आयात ४७.७ प्रतिशतले घटेर नौ अर्ब २६ करोड, तयारी पोशाक आयात २७.८ प्रतिशतले घटेर सात अर्ब ६० करोडमा झरेको छ । चालु आवको प्रथम तीन महिनामा अघिल्लो आवको सोही अवधिको तुलनामा समग्र आयात घट्दा व्यापारघाटामा सुधार भएको छ । सो अवधिमा व्यापारघाटा १३.१ प्रतिशतले घटेर तीन खर्ब ५९ अर्ब १८ करोडमा झरेको केन्द्रको तथ्यांक छ ।
नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा पामतेल, भटमास तेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा फलामका उत्पादन, जुट तथा जुटका सामान, ऊनी फेल्ट उत्पादन, जुस, चिया, अलैंची, पश्मिना सल, कपडा, कुकुर बिरालाका आहारा, चाउचाउ, जडीबुटी, नेपाली हातेकागज, प्रमुख रहेका छन् ।




















