नाबालिक बलात्कार आरोपित सन्दीप लामिछानेलाई थुना,जेलमा पठाउने।

काठमाडौं := १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुना , कारागारमा पठाउन अदालतले आदेश दिएको छ। शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

शुक्रबार दुबै पक्षको बहस सकिएको थियो । बहस सकिएसँगै अदालतले आदेश दिएको हो। सन्दीपविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्।  सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप छ।