साजिद खानले यौन उत्पीडन गरेको आरोप लगाउदै शर्लिन चोपडाले दिइन् उजुरी।

एजेन्सी (मुम्बई):= बलिउड अभिनेत्री शर्लिन चोपडाले चलचित्र निर्माता साजिद खानविरुद्ध यौन उत्पीडनको उजुरी दिनुभएको छ । उहाँले निर्माता खानविरुद्ध मुम्बईको जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गराउनुभएको हो ।

उहाँले सन् २००५ मा आफूमाथि दुव्र्यवहार भएको पीडादायी घटना सार्वजनिक गर्न यस्तो गरेको बताउनुभयो । समाचार एजेन्सी एएनआईका अनुसार उहाँले भन्नुभयो, ‘त्यतिबेला मसँग साजिद खानजस्ता ठूला नामविरुद्ध गुनासो गर्ने हिम्मत थिएन।’

मिटू अभियानका क्रममा धेरै महिला यौन उत्पीडनको विरुद्ध अगाडि आएपछि उहाँले पनि साजिद खानविरुद्ध उजुरी गर्ने निर्णय गर्नुभयो । चोपडाले साजिद खानलाई यो अपराधको लागि जेल पठाउनुपर्ने जिकिर गर्नुभएको छ ।

अहिले साजिद खान ‘बिग बोस १६’ मा देखिनुभएको छ । चोपडाले शोमा उहाँलाई समावेश गरिएकोमा आपत्ति जनाउनुभएको छ । केही दिनअघि तनुश्री दत्तले पनि शोको नयाँ सिजनमा साजिदलाई काष्ट गरेकोमा आपत्ति जनाउनुभएको थियो ।

बिग बोस सिजन १६ मा साजिद खानलाई सामेल गर्ने विषयमा यस शोका निर्माताहरूको सामाजिक सञ्जालमा आलोचना गरिएको छ । मानिसहरूले यो पनि भनिरहेका छन् कि कसरी निर्माताहरूले मिटू जस्ता गम्भीर आरोपलाई बेवास्ता गर्न सक्छन् । प्रख्यात गायिका सोना महापात्राले पनि साजिद खानको शोमा सहभागिताप्रति असन्तुष्टि जनाउनुभएको छ ।

साजिदलाई निशाना बनाउँदै उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘यो साजिद खान हो, जो एक रियालिटी टिभी शोमा देखिएका छन् । संगीत रियालिटी शोमा अनु मलिक र कैलाश खेर पनि निर्णायक छन् । धेरै महिलाले सबैविरुद्ध मिटूको आरोप लगाएका थिए ।’