छठ पर्वका अवसरमा मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा।

बारा := मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ। संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो। तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ।

आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।