दोधारा चाँदनी:= रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ।
कञ्चनपुरको बेदकोट नगरपालिका-९ का सागर रानालाई अहिलेसम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन। “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन।” उनले भने, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो।”
उनका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ।
“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उनले भने, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ हाम्रो परम्परा ओझेलमा छ।”
कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका साहेब रानाले भाईटीका पछिल्लो केहि वर्ष यता अरुको देखेर लगाउन थालिएको बताए। “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीको रुपमा मनाईन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो।” उनले भने, “गीतमा सुख शान्ती आओस,घरबाट राक्षस बाहिर जाओस भन्ने हुन्छ।”
उनले अहिले परम्परागत गीत छोडेर आनुनिक गीत गाउन थालिएको बताए। “एक महिना अघिदेखी नै घरलाई लिपपोत गरेर सजाउने र राक्षको नासहोस भनि घरको जेठो महिलाले भगवानको पुजा गर्ने गरिन्छ।” उनले भने, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ।” पूजापाठ सकेपछि कुखुराको भाले काटेर खाने चलन रहेको उनले बताए। यसबाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ।
बेदकोट नगरपालिका-७ का बल वहादुर डगौराले पहिला थारु समुदायले तिहारमा भाईटीका लगाउने र लक्ष्मीको पूजा गर्ने प्रचलन नभएको बताए। “पूर्खाहरुको पालमा भगवानको मात्रै पूजागर्ने चलन थियो अहिले अरुको देखेर लक्ष्मी पूजा गर्ने भाईटीका लगाउन थाले।” उनले भने, “राना समुदायमा मुर्गाको बली दिने चलन छ थारु समुदायमा बलि दिइँदैन पूजा मात्रै गरिन्छ।”
बदलिदो परिवेश सँगै हरेक समुदायका पर्वहरु मनाउने चलन समेत फेरिन थालेका छन्। पण्डित कविराज भट्टले बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वहरुमा समेत त्यसको असर देखिन थालेको बताए।
“प्रविधिका कारण हरेक सुमदायका पर्वहरु परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन्।” उनले भने, “पर्वहरुका सांस्कृतिक र मौलिक पक्षलाई वेवास्था गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालियो।” उनले हरेक समुदायले आफ्ना मौलिक पर्वहरुको सांस्कृति र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको बताए। रासस



















