नेपाली हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार , शुभ दिपावली सुरु।

काठमाडौं := नेपाली हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार , शुभ दिपावली सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । यस्तै, आज धनवन्तरी जयन्ती पनि मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ भएको हो ।

काग तिहारमा कागलाई यमराजको सन्देश बाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मिठो मिठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ । आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ ।

हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिनुभएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रूपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ । आज देशभरका आयुर्वेद अस्पताल तथा क्याम्पस र वैद्यखानामा धनवन्तरी जयन्ती विविध कार्यक्रम गरी मनाउने गरिन्छ । झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।

यस्तै, कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । त्यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको छ । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हली तिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ पनि यसैदिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।

कात्तिक १० गते बिहीबार साइत खोज्नेले बिहान ११ : ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका बताएको छ ।

यस दिन दिनभर टीका लगाउनु शुभ रहेको उल्लेख गरिएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।