बाजुराका सबै सडक वर्षाका कारण अवरुद्ध, सडक नखुलेर जनतालाई सास्ती।

[ मानबहादुर विश्वकर्मा ] 

बाजुरा:= बाजुराका सबै सडक वर्षातका कारण अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । बाजुराका मुख्य राजमार्ग साँफे मार्तडी सडक खण्ड, मार्तडी कोल्टी सडक खण्ड र कर्णाली करिडोर अवरुद्ध भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताउनुभएको छ ।

बाजुराका मुख्य तीन राजमार्गसँगै नौवटा स्थानीय तहका दर्जन बढी सडक वर्षातले क्षतविक्षत भएर सडक अवरुद्ध भएका हुन्। साँफे मार्तडी र मार्तडी कोल्टी सडक खुलाउने काम भइरहेको छ । कर्णाली करिडोर सञ्चालनका लागि पनि पत्राचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो।

सडक अवरोध हुँदा बिरामीलाई जिल्ला बाहिर जान कठिनाइ

सडक अवरोध हुँदा दैनिक उपभोग्य सामानको अभावसँगै बिरामीलाई समस्या भएको छ । जिल्लाबाट बाहिर रेफर गरेका बिरामीलाई उपचारमा जिल्लाबाहिर लैजान निकै समस्या भएको स्थानीयले बताउँदै आइरहेका छन् ।

पाँच वर्षदेखि वर्षाका चार-पाँच महिना बन्द हुँदै आएको बल्दे अमकोट सडकको समस्याले धेरै बिरामीले समयमा उपचार नपाएर समस्या भोग्दै आएका छन् भने कतिपयले समयमा अस्पताल नपुग्दै ज्यान गुमाउनुपरेको छ । जिल्ला सदरमुकाम जोड्ने एकमात्र राजमार्ग साँफे मार्तडी सडक खण्डको बल्दे अमकोट सडक पाँच महिनादेखि नखुल्दा बाजुरा जिल्लाका बिरामी समस्यामा परेका हुन् ।

१७ सय पर्ने ग्याँसको मूल्य २४ सय

बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले असारको पहिलो साताबाट सडक अवरुद्ध हुँदा नागरिकले अत्यन्तै दुःख पाएको बताउनुभएको छ । सदरमुकाम जोड्ने एकमात्र राजमार्गको करिब डेढ दुई किलोमिटर सडक खण्डमा ठूलो पहिरो गएकाले तत्काल खुलाउन सक्ने अवस्था रहेन । वर्षात पनि अहिलेसम्म नरोकिएकाले सडक खुलाउन समस्या भएको उहाँले बताउनुभयो ।

सडक सञ्चालन नहुँदा १७ सय पर्ने खाना पकाउने ग्याँसको मूल्य २४ सय पुगेको छ । उपभोक्ताको माग बढी भएकाले भरियाद्वारा उपभोक्ताको माग धान्न नसक्दा ग्याँसलगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको छ । त्यसैगरी एक सय रुपैयाँमा पाइने खाने तेलको मूल्य ११५ रुपैयाँ बढी पर्ने गरेको छ ।