काठमाडौं:= अँगालो मार्नाले तनाव कम गर्ने विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ । मुस्किल परिस्थितिमा यदि कसैले तपाइँलाई अँगालो मारेर सहानुभूति जनाउँछ भने तनाव कम महसुस हुने रिसर्चले पुष्टि गरेको छ ।
यस्तो महिलाको सन्दर्भमा अझ बढी लागू हुने बताइएको छ । ७६ जनामा गरिएको रिसर्चमा यस्तो कुरा सामने आएको हो । महिलालाई अँगालो मार्नाले ‘कोर्टिसोल’ नामको हार्मोन कम उत्पादन हुन्छ । तर, यो कुनै पुरुषमा अँगालो मार्दा यस्तो नहुने अध्ययनले जनाएको छ ।
अमेरिकाको एरिजोना युनिभर्सिटीमा गरिएको अध्ययनका अनुसार कुनै व्यक्तिले स्नेहपूर्वक अँगालो लगाएमा अक्सिटोसिन नामको हार्मोन उत्पादन हुन्छ जसले तनावलाई कम गर्दछ ।
सन् २०१८ मा पनि यस्तो रिसर्च गरिएको थियो । यसमा भनिएको थियो कि, कुनै नकारात्मक घटनापछि आफ्ना नजिकका व्यक्तिसँग अँगालो हाल्दा धेरै राहतको महसुस हुने गर्दछ । वैज्ञानिकहरूको यस्तो पनि भनाइ छ कि अँगालो मार्नुभन्दा पहिला यो पनि आवश्यक छ कि तपाइँको अगाडिको व्यक्तिलाई यसको आवश्यकता छ कि छैन । यो अध्ययनको निष्कर्ष नेचर जर्नलमा प्रकाशित गरिएको छ ।
विश्वमा कुनै न कुनै समस्या नभएका व्यक्ति नै हुँदैनन्, सबैलाई कुनै न कुनै समस्याले घेरेकै हुन्छ । त्यसैले स-साना समस्यामा आत्तिएर तनावमा नआउनु नै उत्तम हुन्छ । यदि तपाइँ कुनै पनि कुराले तनावग्रस्त हुनुभयो भने त्यो तनावको कुरा आफ्नो नजिकको व्यक्तिलाई शेयर गर्नुपर्छ । यदि तपाइँले आफ्नो समस्या बाँड्नुभयो भने तपाइँमा भएको तनाव ७० प्रतिशतले कम हुने बताइएको छ ।
किन पुरुषको अंगालोले कोर्टिसोल कम गर्दैन ?
अनुसन्धानअनुसार, धेरै पुरुषहरूले अँगालो हाल्नु राम्रो महसुस गर्दैन किनभने यसलाई सामाजिक रूपमा अप्ठ्यारो मानिन्छ । अर्कोतर्फ यसको सामाजिक कारण पनि हुनसक्छ । उनीहरूले आफूलाई सार्वजनिक स्थानमा अँगालो हाल्दा असहज महसुस गर्ने गरेकाले पनि यस्तो हुनसक्ने अनुसन्धानकर्ताहरूको आकलन छ ।




















