तपाईंलाई खसीको ह्याकुला खान कतिको मनपर्छ ? बनाउने विधि हेर्नुहोस्।

हामीमध्ये धेरैलाई खसीको ह्याकुला खान मनपर्छ। बाहिर रेस्टुरेन्टतिर खाएका पनि हौंला। अब दसैंको बेला त कता जानु खान! तर दसैंमा घरै बसेर ह्याकुला तारेर खान सक्नुहुन्छ। हामीले सेफ कुमार चालिसेको सहयोगमा तपाईंलाई यहाँ ह्याकुला पकाउन सिकाएका छौं।

आवश्यक सामग्रीहरुः

१) ह्याकुला उमालेर स्लाइस काटेको १ के.जी.
२) तोरीको तेल ३ टेबुल चम्चा
३) सुकेको लसुन (मसिनो टुक्रा) १ टेबुल चम्चा
४) सुकेको प्याज (डाइस काटेको) ४ पिस
५) भेडे खुर्सानी (डाइस काटेको) ४ पिस
६) रातो खुर्सानी सुकेको २ पिस
७) बेसारको धुलो १ चिया चम्चा
८) नुन र खुर्सानीको धुलो स्वाद अनुसार
९) गरम मसला १÷२ चिया चम्चा
१०) अदुवा काटेको १-२ इन्ची टुक्रा
११) हरियो धनियाँ १ टेबुल चम्चा (मसिनो टुक्रामा काटेको)

विधिः

१) पूर्व तयारी गर्ने (सबै सामग्री र उपकरण तयार पार्ने)।
२) ह्याकुला पखालेर सफा गर्ने (विभिन्न तरकारी पखालेर, तासेर, काटेर बेग्लै सफा भाँडामा राख्ने)।
३) कराइ तताएर तेल राखी लसुन, खुर्सानी र प्याज फुराउने।
४) त्यसमा भेडे खुर्सानी, ह्याकुला मासु, गरम मसला, नुन, अदुवा राखी केही मिनेट चलाएर पकाउने।
५) नुन पिरोको स्वाद मिलाउने।
६) तयार भएको ह्याकुलालाई हरियो धनियाँले सजाएर अन्य खानाहरुसँग पस्कने।