काठमाडौं:= अर्बपति परोपकारी म्याकेन्जी स्कट र उनका पति पूर्व विज्ञान शिक्षक ड्यान जेवेट छुट्टिने भएका छन् । स्कटले सोमबार वाशिंगटन राज्यको किंग काउन्टी सुपीरियर कोर्टमा सम्बन्ध विच्छेदको लागि निवेदन दायर गरेकी छन। चार वर्षअघि स्कटले लामो समयदेखिका श्रीमान अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्ध विच्छेद गरेपछि आफ्ना छोराछोरी पढ्ने प्रतिष्ठित विद्यालयका एक प्रशिक्षकसँग विवाह गरेकी थिइन् ।
अदालतको अभिलेखमा जेवेटले सम्बन्ध विच्छेदको विरोध नगरेको देखाएको छ । निवेदनमा सम्पत्ति दुई बीच पहिले भएको सम्झौता अनुरुप हुने भनिएको छ तथापि सो सम्झौता भने सार्वजनिक गरिएको छैन । विश्वका सबैभन्दा धनी व्यक्ति बेजोससँग सम्बन्धविच्छेद पछि स्कटको जेवेटसँगको विवाहले धेरैको ध्यान तानेको थियो ।
पेसाले उपन्यासकार रहेकी स्कटले अमेजनमा रहेको उनको बायोबाट जेवेटको नाम हटाएकी छन् । स्कटले बेजोससँग सम्बन्ध विच्छेदपछि पाउनुपर्ने रकमलाई मनकारी रुपमा वितरण गरेर धेरैको ध्यान तानेकी थिइन् । संसारमा विरलै देखिने गतिमा परोपकारकर्ममा पैसा खर्चिएकी स्कटले यस कामको लागि सल्लाहकारहरूको टोली गठन गरेकी थिइन् ।




















