राष्ट्रिय खेलकुदका लागि ९ हजार जना खेलाडीहरुको बीमा।

काठमाडौं := राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीलगायत ९ हजारजनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर अर्यालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । बिमित खेलाडीको संख्या ६ हजार रहेको छ भने बाँकी तीन हजारमा निर्णायक, प्रशिक्षक, व्यवस्थापक, कर्मचारी, अफिसियलगायत रहेको नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको सचिवालय प्रमुख फणिन्द्र पौडेलले जनाउनुभएको छ ।

बीमाको अवधि एक महिना रहेको छ । प्रत्येकको १० लाख रुपैयाँ बराबरको बीमा गरिएको हो । नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ ।