क्वालालम्पुर (मलेसिया):= मलेसियाका लागी नव नियुक्त राजदूत डिल्लीराज पौडेललाई स्वागत तथा हिन्दू धर्मावलम्बीहरुको चाडपर्वहरू बिजया दशमी दसैं , शुभ दिपावली र छठ पर्वको पावन अबसरमा शुभकामना आदान-प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।
हिजो आईतवार मलेसियाको राजधानी क्वालालम्पुर चौकिटमा अवस्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा गैर आवासिय नेपाली संघ (एनआरएनए) मलेसिया , नेपाली व्याबसायी समाज मलेसिया र नेपाल आदिबासी जनजाति महासंघ मलेसियाको संयुक्त आयोजनामा सो कार्यक्रम सभ्यभब्य सम्पन्न भएको हो।



एनआरएनए महासचिव रन्जित क्षेत्री र आदिवासी जनजाती महासंघका सचिव ईश्वर राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा नव नियुक्त राजदूत पौडेललाई आयोजकको तर्फबाट एनआरएनए अध्यक्ष बिनोद थापाले मायाको चिनो प्रदान गरि अन्य उपस्थित विभिन्न संघसँस्थाका प्रतिनिधी र मलेसियामा रहेका पत्रकार , ब्यावसायी लगायतका नेपाली श्रमिकहरुले समेत खादा ओढाएर सम्मानका साथ स्वागत गरेका थिए ।


कार्यक्रममा राजदुत पौडेलले बोल्दै भन्नुभयो , आफुले सबै नेपाली संघ-सँस्थासँग सहकार्य गरेर नेपाल र नेपालीको लागी केही नया काम गर्ने बताए । दूतावासको सेवा प्रवाहको क्षमता बढाउँदै मलेसियामा कार्यरत नेपाली श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने राजदुत पौडेलले बताए ।

तलब सुविधा, सीप विकास, आवास, उपयूक्त सूचनाको व्यवस्थालाई थप प्रभावकारी बनाउने तथा श्रमस्वीकृतिको अवधि सकिएर कानुनी हैसियत गुमाई अलेखबद्ध भएका श्रमिकका समस्या सम्बोधनलाई प्राथमिकता दिने उनको भनाइ रहेको छ । मलेसियाको बजारमा माग भएअनुसार उपयुक्त सीप तालिम लिइ श्रमिकहरु जाने गरेमा ज्याला र सुविधामा वृद्धि हुने भएकोले त्यसतर्फ प्रयास गरिने उनले बताए ।

मलेसियामा विभिन्न पेशामा रहेका नेपालीहरुसँग सहज सम्पर्क स्थापना गर्दै उनीहरुको अधिकतम हित र सुरक्षाका कार्यहरुलाई प्राथमिकता दिने उनले बताए । सन् २०१८ मा भएको श्रम सम्झौता नविकरणलाई पनि उनले प्राथमिकता दिने बताए ।
नेपालको प्रतिष्ठा र राष्ट्रिय सम्मानको अभिवृद्धि गर्दै द्विपक्षीय सम्वन्ध बलियो बनाउने बताउदै उनले नेपालका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, नेपाली उत्पादनहरुको मलेसियाका बजारमा प्रवर्द्धन, नेपालमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुको पहिचान र सहजीकरण जस्ता कार्यहरुबाट नेपालको अधिकतम हित हुने गरी आर्थिक कुटनीतिमा समेत जोड दिने उनले बताए ।

नेपाल-मलेसियाबीच जनस्तरको सम्वन्ध विस्तारलाई समेत प्राथमिकता दिने उनले बताए । हाल मुख्य रोजगारीको गन्तव्य मानिएको मलेसियामा धेरै परिवर्तन ल्याउने कोशिष गर्ने पौडेलले बताए । कार्यक्रममा राजदुत पौडेलले दुतावासको सफलताका लागी नेपाली संघ,सँस्थाहरु समस्त नेपालीको ठुलो हात रहने बताए ।
त्यस्तै सोही कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका द्वितीय सचिव यशू बस्नेत नेपालको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान दिवसको अवसरमा प्रबल जनसेवाश्री मानपदवीद्वारा विभूषित हुनुभएकोमा कार्यक्रमका आयोजकद्वारा दोसल्ला ओढाइ र मायाको चिनो प्रदानगरि सम्मान गरेका थिए ।

कार्यक्रमको अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथि लगायत नेपालीहरूले महत्वपुर्ण समय खर्चेर निमन्त्रणालाई स्वीकारी उपस्थित भई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा एनआरएनए मलेसियाका अध्यक्ष थापाले धन्यवाद ब्यक्त गरेका थिए ।

थापाले मलेसियामा रहेका सबै संघ सँस्थाहरु बिच सहकार्य गर्दै राजदुतावासको समन्वयमा अगाडी बढ्ने बताए । बिश्वका धेरै देशमा दोस्रो राजदुतावासका रुपमा सामाजिक कार्य गर्दै आएको गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष थापाले धेरै पछी मलेसियामा राजदुत आउनुभएकोमा खुशी ब्यक्त गरे । थापाले आफूहरुले बिगतका दिनमा जस्तै दुतावासको निर्देशनमा सहकार्य गर्दै अगाडी बढ्ने बताए ।


उक्त कार्यक्रम एनआरएनए अध्यक्ष बिनोद थापाको सभापतित्वमा , राजदूत पौडेलको प्रमुख अतिथ्यतासंगै दूतावासको उप-नियोग प्रमुख डिसिएम मोती बहादुर श्रीष , द्धितिय सचिवद्धय प्रतीक कार्की , यशु बस्नेत , प्रेम बहादुर बुद्ध थापा , श्रम सहचारी दिपक ढकाल , प्रकाश पन्थी लगायत महासंघ मलेसियाका अध्यक्ष बिपिन राई ,ब्यावसायी समाजका अध्यक्ष इन्द्र लिम्बू , एनआरएनए एशिया प्याशिफिक डिआरसी हरि प्रसाद भट्टराई, एनआरएनए मलेसियाका सँस्थापक अध्यक्ष शंकर बहादुर पौडेल , एनआरएनए उपाध्यक्ष ईन्द्र लिम्बु,हेमराज सापकोटा,दिल केरुङ,सचिव नारायण अधिकारी , कोषाध्यक्ष कृष्ण नेपाल, एनआरएनए आईसिसि सदस्य नेत्र केसी, नेपाली जनसम्पर्क समिति मलेसियाका प्रतिनिधि तेज कुमार राई , नेता बिरेन्द्र कुमार नेगी , माओवादी मलेसियाका प्रतिनिधि प्रेम पाण्डे, नेता दयाराम कुमाल , त्यस्तै मलेसियामा रहेका पत्रकारहरु आरएन चौधरी थारु , कृष्ण गुप्ता, सुनाखरी मगर , मिलन तामाङ , यज्ञ कुमार राई लगायत विभिन्न राजनीतिक तथा सामाजिक संघसंस्थाको प्रतिनिधि , अतिथीहरुको उल्लेख्य सहभागीता उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।







कार्यक्रममा उपस्थित सम्पुर्णले पालैपालो दसैं , तिहार र छठको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुको साथै नव नियुक्त राजदूत पौडेललाई मलेसियामा कार्यरत नेपाली श्रमिकको समस्या बारे धारणा राख्दै त्यसको समाधान गर्न ध्यानाकर्षण गराउनु भएको थियो । कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए।
























