भारतमा जोरतोर कमाइ गर्दै “प्रेम गीत ३”ले पहिलो दिनमै कमायो ७ करोड ७४ लाख।

काठमाडौं:= नेपाली फिल्म इतिहासमै पहिलो पटक एकै पटक १२ सय स्क्रिनसहित विश्वव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म प्रेम गीत ३ ले भारतमा मात्र १ करोड १२ लाख रुपैयाँ कमाएको छ। बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ।

फिल्मको कमाइलाई लिएर भारतीयहरु नै अचम्मित भएका छन्। भारतको चेन्नईजस्तो शहरमा समेत नेपाली भाषाको फिल्ममा हाउसफुल हुनुले उनीहरुलाई अचम्मित बनाएको हो। भारतका ५ सय हलमा यो फिल्म रिलिज भएको छ। नेपालमा २ सय पर्दामा र अन्य मुलुकमा ५ सय पर्दामा फिल्म रिलिज भएको छ।

पहिलो दिन भारतमा १ करोड १२ लाख ग्रस कलेक्सन भएको बलिउड हंगामाले जनाएको छ। नेपालमा २ करोड ५ लाख कलेक्सन गरेको फिल्मले बाँकी मुलुकबाट १ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ। बलिउड हंगामा भारतीय रुपैयाँका आधारमा ग्रस कलेक्सन रिपोर्ट जारी गरेको हो। फिल्म ६ करोड रुपैयाँमा तयार भएको र ५ करोड प्रवर्द्धनमा खर्च भएको जनाउँदै बलिउड हंगामाले ११ करोड लागतमा फिल्म थिएटरमा पुगेको जनाएको छ। त्यस आधारमा पहिलो दिनको ग्रस कलेक्सनलाई उत्साहजनक रहेको टिप्पणी गरिएको छ।

भारतीय फिल्म निर्माता सुवास कालेले यसलाई परीक्षणका रुपमा व्याख्या गरेका छन्।

‘यो फिल्मलाई भारतमा रिलिज गर्नु एउटा प्रयोग थियो। पोजेटिभ रिपोर्टले हामीलाई असाध्यै खुसी तुल्याएको छ। हिजो र आज चेन्नईजस्तो शहरमा नेपाली भर्सन हाउसफुल चल्नु अर्को अचम्मको विषय बनेको छ। वर्ड अफ माउथ अत्यन्त सकारात्मक छ। हामीले हलमा दर्शकहरुले ताली बजाइरहेको र सिठी फुकिरहेको भिडियो क्लिप पाइरहेका छौं,’ उनलाई उदृत गर्दै बलिउड हंगामाले जनाएको छ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङको लिड रहेको फिल्ममा शिव श्रेष्ठ, माउत्से गुरुङ, सुनिल थापा र मनिष राउत प्रमुख भूमिकामा छन्। सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले फिल्मको निर्देशन गरेका हुन्। मनदीष गौतमसहित छेतेनले फिल्मको कथा लेखेका हुन्। त्यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा २४ लाख ३८ हजार रुपैयाँ  , क्यानडामा १ लाख ३८ हजार रुपैयाँ, बेलायतमा  १ लाख ३८ हजार रुपैयाँ , अस्ट्रेलियामा ३० लाख २७ हजार रुपैयाँ कमाइ गरेको छ ।