एजेन्सी := ताइवानको दक्षिणपूर्वी क्षेत्रमा आइतबार ७.२ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्वेको रिपोर्ट अनुसार त्यहाँ सुनामीको चेतावनी पनि जारी गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले यस भूकम्पको म्याग्निच्युड ७.२ मापन गरेको छ । उसका अनुसार भूकम्पको केन्द्रविन्दु पृथ्वीबाट १० किलोमिटर तल थियो ।
ताइवानी मिडियाले हाल पूर्वी तटमा रेल पटरीबाट खसेको र भवन भत्किएको रिपोर्ट प्राप्त गरेको छ। हताहतको पूर्ण विवरण भने खुलाइएको छैन । यस भूकम्पपछि संयुक्त राज्यको सुनामी चेतावनी केन्द्रले ताइवानमा सुनामीको चेतावनी जारी गरेको छ ।
उक्त चेतावनीमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटरको दायराभित्र ताइवान सागरको तट नजिकै खतरनाक सुनामी छाल आउन सक्ने बताइएको छ । जापानको मौसम विभागले पनि सुनामीको छाल १ मिटर अग्लो हुने चेतावनी दिएको छ ।




















