इटहरी:= विकासोन्मुख सहरका रूपमा परिचित छ, धरान । शिक्षा, स्वास्थ्य क्षेत्रले सम्पन्न सहर भए पनि यहाँ वर्षौंदेखि खानेपानी समस्या ज्यूँका त्यूँ छ । धराने जनताले ‘खानेपानी सहज रूपमा पाउनुपर्छ’ भनेर कैयौं आन्दोलन गरे। कहिले खानेपानी मुहान फुट्दा कर्मचारीलाई जानकारी गराउने त कहिले खानेपानी मुद्दा विषयमा उपमहानगरको गेटै भत्काउनेसम्मका आन्दोलन भए ।
विशेषगरी, धरानमा फागुन, चैत र वैशाखमा खानेपानी हाहाकार हुन्छ । त्यसबेला मात्रै जुट्छन्, कतिपय अभियन्ता पनि । कतिपय दल चुनावताका खानेपानी समस्या समाधान विषयमा ‘राजनीतिक एजेन्डा’का रूपमा अगाडि सार्दै आएका छन् । तर, उनीहरूका एजेन्डा चुनावभर सीमित हुन्छ ।
पटकपटक कम्युनिस्ट जिताएका धरानले २०७६ को उपनिर्वाचनमा परिवर्तन चाहेका कारण कांग्रेस चुने । तर, कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित तिलक राईले पनि खानेपानीका लागि आशलाग्दो नेतृत्व गर्न नसकेपछि गत चैतमा उपमहानगरअगाडि रित्तो गाग्री लिएर खानेपानी नपाएको धरान आन्दोलनमा उत्रियो । त्यस क्रममा धरान उमपहानगर गेटै भत्काउने प्रयास भए ।
‘धराने एक होऔं’, ‘धरान खानेपानी व्यवस्थापन बोर्डको सर्तअनुसारको खानेपानी खोइ ?’, ‘जारको पानीले नुहाउन सक्दैनौं’, ‘जिम्मेवारी वहन गर’लगायत नाराबाजीसँगै गेटै उखेल्ने भीड उचालियो । आन्दोलनका क्रममा कतिपय कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि भौतिक आन्दोलनसमेत भए ।
तर, आन्दोलनकै भरले धरानले दिगो रूपमा खानेपानी पाएन । आन्दोलन चुलिँदै गयो । खानेपानी संस्थान बोर्डका कर्मचारीमाथि ‘कामै नगरेको’ आरोप लगाइए । यही आन्दोलनको नेतृत्व र अगुवाइ गर्ने पात्र थिए, हर्कराज राई (हर्क साम्पाङ) । जो आज धरान उपमहानगर प्रमुख (मेयर) भएका छन् । याे खबर राजधानी दैनिकमा छ ।




















