साउदीमा घरभित्रै दुर्घटनामापरि ८ वर्षदेखि अचेत अवस्थामा रहेकी बाटुलीलाई स्वदेश फर्काइयो।

साउदी अरेबिया := वैदेशिक रोजगारी को सिलसिलामा साउदी अरब पुगेर बिगत ८ वर्षदेखि अचेत अवस्थामा अस्पतालमा उपचाररत रहेकी रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका २ निवासी नेपाली श्रमिक बाटुली सुनारलाई साउदी अरेबियास्थित नेपाली दूतावासको सहयोग र समन्वयमा नेपाल फर्काइएको छ।

रोजगारीका लागि सन् २०१४ मा साउदी पुग्नुभएकी बाटुली त्यहाँ पुगेको ६ महिनामा नै आफूले काम गर्ने घरको माथिल्लो तलाको भर्‍याङबाट तल खस्दा दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएकी बाटुलीलाई अस्पतालले परिवारको साथमा राखेर उपचार गर्दा छिटो निको हुन सक्ने भन्दै स्वदेश लैजान भनेपछि दूतावासले परिवार र साउदीको विभिन्न निकायसँग समन्वय गरी नेपाल फर्काइएको जनाएको छ।

घरेलु कामदारका रूपमा सुरुमा कुवेत गएको भए पनि त्यहाँबाट उहाँलाई गैर कानुनी रूपमा साउदीमा लगिएको दूतावासले जनाएको छ । साउदीमा काम गर्ने क्रममा घरको माथिल्लो तल्लाको भर्‍याङबाट चिप्लिएर तल खस्दा बाटुलीको टाउको गम्भीर चोट लागेको थियो । जसको कारण उहाँ अचेत अवस्थामा पुग्नुभएको थियो ।

तर करिब ८ वर्ष उपचार गर्दा पनि उहाँको स्वास्थ्यमा खासै सुधार नआएको दूतावासले उल्लेख गरेको छ । दूतावासका अनुसार, अस्पतालमा राखेर उपचार गर्दा खासै सुधार नआएपछि डाक्टरले नै परिवारको साथमा राखेर उपचार गर्दा केही सुधार हुन सक्ने भन्दै नेपाल पठाउन अनुरोध गरेका थिए।

नेपाल पठाउन अस्पतालले निरन्तर ताकेता गरे पनि पठाउन नसकेको र यस पटक भने परिवार पनि बिरामीको जिम्मा लिन तयार भएकाले पठाउन सहज भएको दूतावासले जनाएको छ।दूतावासले नै बाटुलीको आवश्यक कागजात तयार गर्नुका साथै  उहाँको एक्जिट भिसाका लागि साउदी श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गरेको थियो ।

यसका साथै बाटुलीलाई नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेटचर राख्ने व्यवस्था गर्न र स्ट्रेटचर बापतको खर्च भने वैदेशिक रोजगार बोर्डले व्यहोरेको हो । बाटुली गएको आइतबार नेपाल आइपुग्नुभएको छ ।

साउदीमा अवस्थित नेपाली दूतावासले जारी गरेको बिज्ञप्ति हेर्नुस्