साफ इतिहासमा पहिलोपटक भूटान सेमिफाइनलमा, श्रीलंकालाई ५–० गोलले हरायो।

काठमाडौं := काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला च्याम्पियनशीप फुटबलमा शुक्रवार श्रीलंकामाथि ५–० को सहज जित निकालेको भूटान पहिलो पटक साफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रवार भएको खेलमा श्रीलंकाबिरुद्ध शुरुवातबाट नै हाबी भएर खेलेको भूटानले स्पष्ट जित निकाल्दै पहिलोपटक साफ च्याम्पियनसिपको अन्तिम चारमा स्थान बनाएको हो । यसअघि भुटानले बंगलादेशमा आयोजना भएको सन् २०१० को संस्करणमा श्रीलंकाबिरुद्ध १–१ गोलको बराबरी खेलेको थियो ।

यस बाहेक भूटानले साफ महिला च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्न सकेको थिएन । सम्पन्न पाँच संस्करणका प्रतियोगितामा भूटान सबैभन्दा धेरै गोल खाने टोलीमा गनिदै आएको छ भने भुटानले समूहचरण भन्दा माथिको यात्रा तय गर्न सकेको थिएन । तर शुक्रवारको नतिजाले भूटानको महिला टोलीले उचाई पाएको प्रस्टाएको छ ।

एकतर्फी जस्तो भएको खेलमा श्रीलंकाबिरुद्ध भूटानले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा चार गोल गरेको थियो । भूटानको जितमा डेखी लाजोमले दुई गोल गर्दा न्याम्गेल डेमा, छिरिङ लाडेन र छिरिङ याङदेनले समान एक÷एक गोल गरे । दबाब दिएर खेलेपनि भूटानले अग्रता भने ४२ औं मिनेटमा मात्र लिएको थियो ।

न्याम्गेलले भूटानका लागि पहिलो गोल गर्दा डेखीले ५० औं मिनेटमा गोल गर्दै अन्तरलाई दोब्बर बनाएकी थिइन् । डेखीले ६३ औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल पूरा गर्दा छिरिङले ८४ औं मिनेटमा टोलीका लागि चौथो गोल गरेकी थिइन् । पछि परेसँगै रक्षात्मक देखिएको श्रीलंकाबिरुद्ध भुटानले ८९ औं मिनेटमा पाँचौ गोल गर्न सफल भयो । छिरिङ याङदेनले व्यक्तिगत दोस्रो गोल गरिन् ।

श्रीलंकाको पोस्ट तिर अधिकांस ब्यस्त रहेको भुटानका केही राम्रा अवसर खेर गएका थिए भने केही प्रहार बारमा पनि लागेका थिए । श्रीलंकाले कुनै त्यस्तो अवसर निकाल्न सकेन ।

आयोजक नेपालले सोमवार श्रीलंकालाई पराजित गरे नेपालको समूह विजेताको रुपमा अन्तिम चारमा पुग्नेछ । यदी श्रीलंकाले नेपालसँग बराबरी खेल्दा पनि श्रीलंकाको यात्रा समूह चरणमा समाप्त हुनेछ । श्रीलंकालाई अघिल्लो चरण पुग्नका लागि नेपालबिरुद्ध कम्तीमा पनि ४ गोल अन्तर हुनुपर्नेछ ।

समूह ‘बी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा सुखद् नतिजा निकालेको भूटान यसअघि पहिलो खेलमा नेपालसँग ४–० ले पराजित भएको थियो । समूह ‘बी’ मा भूटानले दुई खेलबाट तालिकामा तीन अंक जोडेको छ । भूटान शीर्ष स्थानमा उक्लिँदा एक खेल कम खेलेको नेपाल समान ३ अंकका साथ दोस्रो स्थानमा छ । तालिकाको पुछारमा रहेका श्रीलंका भने तालिकामा अंक विहीन छ ।

च्याम्पियनशीपमा शनिवार दुई खेल हुनेछन् । दिनको पहिलो खेल १ बजे पाकिस्तान र बंगलादेशबीच हुनेछ भने ५ः३० बजे हुने दोस्रो खेल माल्दिभ्सबिरुद्ध भारतबीच हुनेछ ।