१० दिनभित्र बहाल कर बुझाउन सेना-प्रहरीसहित विभिन्न निकायलाई महानगरले पठाए पत्र।

काठमाडौं :=  काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरी लगायतका निकायलाई बहाल कर बुझाउन आग्रह गरेको छ । प्रहरी र सेनालाई पत्र लेख्दै महानगरले १० दिनभित्र बहाल कर बुझाउन आग्रह गरेको हो ।

सेना र प्रहरीले आफ्ना क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको देखिएको भन्दै त्यसबापतको बहाल कर बुझाउन उनीहरूलाई आग्रह गरेको छ। बहाल आम्दानीको विवरणसहित पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा नियमानुसार बहाल कर र जरिवाना बुझाउन महानगरले आग्रह गरेको छ ।

महानगरपालिकाको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले पत्र लेखी पटक-पटक ताकेता गर्दा पनि हालसम्म बहाल कर नबुझाएको भन्दै १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा बहाल कर बुझाउन अनुरोध गर्नुभएको छ । अन्यथा महानगरपालिकाको राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पत्रमा चेतावनी दिइएको छ ।

महानगरपालिकाले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पससहित वीर अस्पताल र दशरथ रंगशालालाई बहाल कर बुझाउन ताकेता गरेको छ । महानगरले शंकरदेव, रत्नराज्य लक्ष्मी (आरआर), नेपाल ल, नेपाल कमर्स र सरस्वती बहुमुखी क्याम्पसले आफ्नो क्षेत्रभित्र बहालमा लगाई आम्दानी गरेको तर बहाल कर नतिरेको भन्दै कर तिर्न आग्रह गरेको हो ।

पटक-पटक बहाल कर तिर्न ताकेता गरे पनि नबुझाएको भन्दै महानगरपालिकाले पत्र काटेर १० दिनभित्र तिर्न भनेको हो । नियमानुसारको बहाल कर र सोको जरिवानासहित बुझाउन महानगरले आग्रह गरेको छ । अन्यथा राजस्व ऐन २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकीसरह असुलउपर गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत पत्रमा दिइएको छ ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राजस्व असुली र अवैध संरचना भत्काउने अभियान चलाइरहनु भएको छ । महानगरले यसअघि सातवटा क्यासिनोलाई एक साताभित्र मनोरञ्जन कर तिर्न पत्राचार गरेको थियो । बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक-पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले चार वर्षदेखि नतिरेको महानगरको राजस्व विभागले जनाएको छ ।

महानगरको पत्रपछि म्यारियट होटलको डेल्टिन क्यासिनोले कर बुझाएको छ । डेल्टिन क्यासिनाले १९ लाख ३७ हजार रुपैयाँ कर बुझाएको हो । यसअघि महानगरको ताकेतापछि भृकुटीमण्डपस्थित काठमाडौं फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको थियो ।