युएई := युएई (दुबई) मा जारी एसिया कप अन्तर्गत आज सम्पन्न सुपर फोरको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। अफगानिस्तानका लागि इब्राहिम जार्डनले सर्वाधिक ३५ रन बनाउँदा हज्रातुल्ला जजाइले २१ रन बनाए। त्यस्तै राशिद खान १८ रनमा अविजित रहँदा रहमानुल्ला गुरबाजले १७ तथा करिम जनतले १५ रन बनाए। बलिङतर्फ पाकिस्तानका हरिस रउफले २ विकेट लिँदा नसीम साह, मोहम्मद हसनयन, मोहम्मद नवाज र सदाव खानले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले १९.२ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। पाकिस्तानका लागि शादव खानले सर्वाधिक ३६ रन बनाउँदा इफ्तिकार अहमेदले ३० तथा मोहम्मद रिजवानले २० रन बनाए। बलिङतर्फ अफगानिस्तानका फजलहक फरोक्वी र फरीद अहमेदले समान ३ विकेट लिँदा राशिद खानले २ विकेट लिए।
पाकिस्तानको जितसँगै भारत र अफगानिस्तान फाइनलको होडबाट बाहिरिएका छन् भने पाकिस्तान र श्रीलंकाले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेका छन्।




















